चार चलचित्रको तयारीमा घायल

काठमाडौं – गीतकारको रुपमा स्थापित शंकर अधिकारी घायल यतिबेला एकै साथ विभिन्न चार वटा नेपाली चलचित्रको प्री प्रोडक्शन मा व्यस्त छन् । यति बेला उनी दानराज, प्रतिशोध, प्रेम पुजारी तथा तक्दिर शीर्षकका चलचित्रको लेखन तथा निर्देशन सहित छायांकनको तयारीमा छन् ।

सुनसरीको झुम्कामा माता राधादेबी र पिता गोपाल अधिकारीबाट जन्मिएर झुम्काकै भासि माबिबाट माद्यामिक शिक्षा पूरा गरेका घायल ले पशुपती क्याम्पस, चाबहिल बाट उच्च शिक्षा हासिल गरेका हुन् । कलेजमा अध्ययनरत छँदा नै कथा, लघुकथा लेख्न थालेका घायल ले रेडियो नेपालबाट प्रसारण हुने गीति कथाको कार्यक्रममा लेख्दा लेख्दै गीत लेखनतर्फ मोडिएका हुन् ।

चलचित्र मैदानमा गीत लेखेपछि उनी पूर्ण रूपमा गीतकारको रूपमा सक्रिय भए । चलचित्र दादागिरीको तिम्रो आँखामा बस्ने रहर भो मलाई‘। लोकप्रिय भएपछि उनले पछाडि फर्किएर हेर्नु परेन ।

लोकप्रिय हास्य शृंखला मेरी बास्सैको शिर्ष गीत लोकप्रिय भएपछि उनले थुप्रै चलचित्र तथा टेली चलचित्रका लागि गीतहरू लेखे । खलनायक, नासिब आफ्नो, लक हुँदै अन्दाजको सिम्पल सिम्पल कान्छि को डिम्पल पर्ने गाला सफल भएसंगै उनी चलचित्र को लेखनमा समेत सक्रिय भएका हुन् ।

उनले पहिलो चलचित्र लभ इज लाइफ लेखेपछि भोजपुरी चलचित्र ‌यी कैसन बौछार, तामाङ भाषाको चलचित्र जाथेवा अर्थात जेठो छोरा लेखे । त्यसपछि उनले करिब ३६ वटा तामाङ चलचित्रहरू लेखे । हालसम्म उनले लेखेका चलचित्रको संख्या नै ६३ पुगेको छ । गीतकार र लेखकको रूपमा स्थापित भएपछि उनले म्युजिक भिडियोमार्फत निर्देशनको क्षेत्रमा पनि हात हाले ।

निर्देशक बाबू बलामीसंगै संयुक्त रूपम पहिलो चलचित्र निर्देशन गरेपछि उनले मदहोस, सत्यम शिवम सुन्दरम, काँचुली, लभ जोन, मेरो दिल छ पोखरामा आदि चलचित्रमा लेखक तथा निर्देशकको रूपमा आवद्ध भए ।

अहिले आएर उनले एकैसाथ चार वटा चलचित्रको लेखन तथा निर्देशनमा घोषणा गरेका हुन् ।