सामाजिक विकृति एवम् आर्थिक बेथिति बढेको भन्दै गहिरो चिन्ता व्यक्त गरे पूर्वराजा ज्ञानेन्द्र शाहले

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारीका अवधिमा मानसिक वेदना, सामाजिक विकृति एवम् आर्थिक बेथिति बढेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्। बुधबार एक विज्ञप्ति जारी गरी पूर्वराजा शाहले कोरोना महामारीका बेला नेपाली जनताले भोग्नु परेको गाँस, बास र कपासको समस्या समाधान गर्न सरकारलाई आग्रह समेत गरेका छन्।

उनले देशमा भइरहेका गतिविधिप्रति अनेक प्रश्न गरेका छन्। ‘हाम्रो देशभक्ति, स्वाधीन स्थिति एवम् स्वाभिमानमाथि बरोबर किन प्रश्न, सन्देह र विवाद बिग्रह उत्पन्न हुन्छ? जनताको सुरक्षा, स्वास्थ्य र जीविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोस उठिरहन्छ?,’ शाहले प्रश्न गरेका छन्।

‘रोगको महामारी, राष्ट्रियताको संरक्षण, सीमा समस्या, राष्ट्रहितविरूद्धका सन्धि-सम्झौता तथा हत्या, हिंसा र आत्महत्याजस्ता जल्दा-बल्दा र दु:खद् विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छन्?’ भन्दै शाहले ‘भ्रष्टाचार, लापरवाही, पक्षपात र भेदभावका कूरा किन दिनहुँ उठिरहन्छन्?’ प्रश्न गरेका छन्।

‘यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार युवाहरू, तमाम देशभक्त स्वतन्त्र नागरिकहरू सडक संघर्षमा किन उत्रिरहनु पर्ने अवस्था सिर्जना भइरहन्छन्? यी सब सोचनीय विषय र विचारणीय कुराहरूको प्रश्न उब्जिरहेको छ,’ शाहले विज्ञप्तिमा भनेका छन्।

शाहले नेपाल बहुजातीय, बहुभाषिक र बहुविविध भौगोलिक विशेषता रहेको बताउँदै परस्पर मेलमिलाप, समन्वय, एकता तथा सामाजिक सदभाव हाम्रो सनातनिक मान्यता हो भनेका छन्। ‘त्यसैले अहिले देशमा बढ्दै गएको जातीयता, वर्गीयता र क्षेत्रीयताका संकीर्ण र दूर्भावनाले राष्ट्रियता र ऐतिहासिक राष्ट्रिय अस्मितालाई राम्रो गर्दैन,’ विज्ञप्तिमा भनिएको छ।

विविध बाध्यताका कारण विदेशिएका कतिपय नेपालीहरू स्वदेश फर्कने क्रममा रहेको भन्दै शाहले फर्कने सबैको श्रम, सिप र सामर्थ्यको सदुपयोग गरी आफ्नै देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलायन जरुरी रहेको उल्लेख गरेका छन्।
‘बदलिँदो विश्व व्यवस्थालाई बुझेर अब हामीले हाम्रो आफ्नो प्रकृति, रीति, संस्कृति र पद्धतितिर फर्कनु जरुरी देखिन्छ। यसबाट नै हाम्रो स्वाभिमान र स्वाबलम्वनको परिपाटी फेरि कायम हुन्छ,’ उनले भनेका छन्, ‘केही दशकअघिसम्म आफ्नै गौरव गाथा, मौलिक मान्यता र आर्थिक क्षमतामा उभिएको देशको शिर फेरि ठाडो पार्नु परेको छ।’

उनले यो कालखण्डमा परस्पर आरोप-प्रत्यारोप गरेर वा निषेध र प्रतिशोधको भावना राखेर कसैको हित नहुने बताएका छन्। ‘नेपालको एकीकरण, नेपालको स्वाधिनताको संरक्षण र सर्वतोमुखी विकासको चिन्तन कहिले, कसले र कोबाट भयो? त्यो आम हेक्काको विषय भइसक्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नु पर्दछ। राष्ट्रियता नै हाम्रो मूल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो।’

राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर यही असार महिनामा पर्ने आफ्नो जन्मदिन नमनाउने निर्णय गरेको शाहले विज्ञप्तिमा बताएका छन्। – nepalmother.com

– प्रकाशित मिति: बुधबार, असार १०, २०७७