नेपाली बैज्ञानिकको दाबी : काठमाडौं लगायतका सहर जोखिम बन्दैछन् (भिडियो सहित)

डाक्टर रबिन्द्र समीर,
माइक्रोबस, टाटा सुमो तथा स्कर्पियोमा कोचाकोच मान्छे भरेर बिभिन्न जिल्लाबाट दैनिक हजारभन्दा धेरै मान्छे चोरीबाटोबाट काठमाडौं आइरहेका छन् | भीमढुंगा, फर्पिंग, ककनी, साँगा, टोखा लगायतका दर्जनौं नाकाबाट बिना चेकजांच मान्छे ओइरिने क्रम बढिरहेको छ | प्रहरीप्रशाशन आवतजावत ब्यबस्थित गर्न असफल भएको छ |

काठमाडौंका सडकमा ट्राफिक जाम छ | जोरबिजोरमा कुनै कडाइ छैन | बजारमा कोरोनापूर्वको अवस्था छ | भीडभाड छ | भौतिक दुरी कसैले पनि पालना गरेका छैनन् |
अस्पतालमा खुट्टा राख्ने ठाउँ छैन | अस्पताल वरिपरिका होटेल तथा चियापसलमा मान्छेहरु जोडिएर बसेका छन् |९० % व्यक्तिले नाक वा घांटीमुनी मास्क लगाएको देखिन्छ |
टेस्ट नै नगरि घर पठाउने स्वास्थ्य मन्त्रालयको ‘ हावादारी ‘ निर्णयले संक्रमित गाउँगाउँमा पुगेका छन् | PCR को रिपोर्ट आउन २ हप्ता लाग्न थालेको छ | कोरोना भाइरस RNA भाइरस भएको तथा RNA अत्यन्तै छोंटो समय रहने भएकोले खात लागेका स्याम्पलबाट सहि रिपोर्ट आउने सम्भावना कम छ |

काठमाडौं लगायत जनघनत्व धेरै भएका सहरमा परिक्षणको दर ‘ छैन बराबर छ ‘ | सरकारले कोरोना नियन्त्रणको भिजनरी रणनीति नबनाउने हो भने काठमाडौं लगायतका सहरमा कोभिड प्रकोप अनियन्त्रित हुने खतरा छ | भारतबाट नेपाल आउने दाजुभाइ तथा दिदीबहिनीलाई अत्यन्तै कष्टकर अवस्था छ | उहाँहरुलाई न परीक्षण, न राम्रो क्वारेन्टाइन न सुरक्षित रुपमा थातथलो पठाउने ब्यबस्था छ |

कार्य सम्पादनमा असक्षम देखिएका मन्त्रीलाई आराम गर्ने सुबिधा दिएर एबम काम गर्न सक्ने इमान्दार तथा सक्षम व्यक्तिको टिम बनाएर काम नगर्ने हो भने हामी कोहि पनि सुरक्षित हुने छैनौं | यो संकटलाई सुरक्षितरूपमा अवतरण गराएमा वर्तमान सरकारको नाम इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ | अन्यथा यी खेलाडीहरु खलपात्रको रुपमा स्थापित हुने डर छ |