पसल गर्दा व्यापारीले जान्नैपर्ने वास्तुकला यस्तो छ : माता सबिता आचार्य

सबिता आचार्य,

हामीहरुले तुरुन्तै बेच्नुपर्ने सामग्रीलाई उत्तर दिशातर्फ सजाउनुपर्छ । अझै वायव्य कोणमा बिक्री वस्तु राखेमा शीघ्रातिशीघ्र बिक्री हुन्छ । पसलको स्वामी (व्यापारी)ले उत्तर दिशातर्फ फर्केर, उत्तर दिशाको भित्तालाई नछोइकन, उत्तर या पूर्व दिशातर्फ मुख फर्काएर गद्दीमा बसी सामान बेच्नुपर्छ ।

व्यापारीको मुख उत्तरतर्फ फर्केर बसेको खण्डमा क्यास बक्स आफ्नो बायाँतर्फ राख्नुपर्छ । पसलेको मुख पूर्वतर्फ फर्केर बसेको अवस्थामा क्यास बक्स दायाँतर्फ राख्नु उचित हुन्छ । उत्तर गेट भएको व्यापारिक भवनमा धनात्मक ऊर्जा क्षेत्रमा प्रवेश मार्ग बनाउनाले धन लाभ हुने र सुख साथै समृद्धि प्राप्त हुन्छ ।

साथै व्यापारको स्वामी यदि कुर्सीमा बस्नुपर्ने अवस्थामा पूर्व दिशाको मध्यभाग दक्षिण पूर्व (अग्निकोण)लाई छोडेर मालिकको कुर्सी राख्नुपर्छ । आग्नेय कोणमा कुर्सी राख्नैपर्ने अवस्था आएमा, पूर्वी भित्ताको दक्षिणी भागतर्फ नछोइकन बस्ने व्यवस्था गर्नुपर्छ । क्यास काउन्टर सधैँ उत्तर–पूर्व दिशा (इशान) कोणमै बनाएमा पूर्ण लाभ मिल्छ ।

धनात्मक ऊर्जा क्षेत्रमा प्राप्त धन अधिक कालसम्म रहिरहने छ । व्यापारिक भवनमा सुरक्षार्थ खटिएका प्रहरी एवं सुरक्षा गार्ड उत्तर–पूर्व या पूर्व दिशामा रहनु आवश्यक छ । दक्षिण–पूर्व (अग्नि कोण)मा खडा प्रहरी उत्तर मुखगरी उभिएमा चिन्ता बढाउने साथै गलत खालको व्यापारिक सन्देश,बाहिर निस्केर स्वामीलाई क्षमायाचनासमेत गर्नुपर्ने हुन सक्छ ।

रत्नाभूषण, ऊनी कपडा, खाद्यान्न, विभिन्न प्राविधिक उपकरण या कमिसनसम्बन्धी कामको लागि पूर्व दिशा फर्केको स्थान शुभ हुन्छ । यस प्रकार उपयुक्त वास्तुशास्त्रीय सिद्धान्तमाथि विभिन्न वर्गका व्यापारीहरुले पालना गरी आफ्नो व्यापारव्यवसाय गरेमा उच्च आम्दानी गरी धन–धान्य, समृद्धि, सुख शान्ति प्राप्त हुनेछ र यसलाई तपाईंहरुले पनि पालना गर्न नभुल्नु होला ।