काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइयो

काठमाडौंमा आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइको छ। जनता दरबार नामक संस्थाले नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले बाटो बनाएको बिरोधमा साँझ ६ बजेतिर कलंकी चोकमा मोदीको पुत्ला दहन गरेको हो। ‘नेपाल र भारत दुबै देशले उक्त क्षेत्र विवादित हो भनेर स्वीकारेका छन्। तर भारतले अहिले एकपक्षीय रूपमा बाटो बनाएको छ, जनता दरबारका संयोजक एसपी शाहले भने,‘त्यसको विरोधमा हामीले पुत्ला दहन गरेका हौं।

उनले पुत्ला दहन गर्दागर्दै प्रहरी आएर हस्तक्षेप गरेको बताए। ‘हामीले आगो सल्काउँदा सल्काउँदै पुलिस आएर हस्तक्षेप गरेपछि हामी त्यहाँबाट निस्कियौं, उनले भने। उता नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतले एकपक्षीय रुपमा बाटो बनाई मानसरोबर मार्ग खोलेको विरोधमा भक्तपुरमा प्रर्दशन भएको छ। नेपाल मजदुर किसान पार्टीका भातृ संगठन नेपाल क्रान्तिकारीसहितले संयुक्तरुपमा प्रदर्शन गरेका हुन्। भक्तपुरको कमलविनायकबाट सुरु भएको युवा–विद्यार्थीको उक्त जुलुस च्याम्हासिंह–सूर्यमढी–दतात्रय–गोल्मढी–सुकुलढोका–टौमढी हुँदै सूर्यविनायक चोक पुगेर कोणसभामा परिणत भएको हो।

जुलुसमा सहभागीले भारतीय विस्तारवाद–लिपुलेक छोड्, कालापानी हाम्रै (नेपालकै) हो, लिम्पियाधुरासम्म हाम्रै हो, भारतीय विस्तारवाद–मुर्दावाद, भारतीय सेना कालापानी छोड्, सीमा अतिक्रमण–बन्द गर जस्ता नारा लगाएका थिए। जुलुसमा सयौंको संख्यामा युवा विद्यार्थी तथा स्थानीय सहभागी थिए। प्रदर्शनपछि आयोजित कोणसभामा नेक्राविसंघका केन्द्रीय अध्यक्ष सविन ख्याजुले सबै प्रमाणहरूले लिपुलेक, कालापानी, लिम्पियाधुरासम्मको क्षेत्र नेपालको हो भनी प्रस्ट हुँदाहुँदै भारतले कब्जा गरी राख्नु बिस्तारवादी र हेपाहा प्रवृत्ति भएको बताए।

‘नेपालको भूमिबाट भारतिय सेना हटाउन नसक्नु र भारतले कब्जा गरेको नेपालको भूमि फिर्ता लिन नसक्नु नेपालका शासकहरुको नालायकी लाचारीपन हो, उनले भने। भारतले अतिक्रमित सबै नेपाली भूमि नेपाललाई फिर्ता गर्नुपर्ने माग गर्दै युवा–विद्यार्थीले संघर्ष गरिरहने प्रतिवद्धता व्यक्त गरे। नेक्रायुसंघका भक्तपुर अध्यक्ष मिनबहादुर बाटाले कोरोना भाइरस महामारीको अवस्थामा भारतीय विस्तारवादले नेपाली भूमिमा सडक बनाएर आफ्नो मौकापरस्त अनुहार उदाङ्गो पारेका आरोप लगाए।