बहराइनमा थप ८८ जना नेपालीमा कोरोना संक्रमण देखियो !

बहराइन- बहराइनमा थप ८८ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। यससँगै संक्रमित नेपालीहरूको संख्या २ सय ४५ पुगेको छ। गत बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि भएको थियो। बहराइनस्थित नेपाली दूतावासका अनुसार त्यसअघि एकैपटक ७७ जना नेपालीमा यस्तो संक्रमण भेटिएको थियो।

बहराइनमा एक हजार ९ सय ५० जना संक्रमित उपचारमा छन् १ हजार ७ सय ६२ जना डिस्चार्ज भएका छन्। कोरोना संक्रमणकै कारण बहराइनमा अहिलेसम्म ८ जनाको मृत्यु भएको छ। बहराइनका लागि नेपाली राजदूतवासले चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएको छ।

दूतावासका अनुसार कामदारहरूको बासस्थानमा सामाजिक दूरी कायम गर्न नसक्दा संक्रमणको दर बढिरहेको छ। एकै स्थानमा धेरै कामदार बस्ने गरेकाले एक जनामा भएको संक्रमण अन्यमा फैलिएकाले नेपाली कामदारहरू असुरक्षित बन्न पुगेका छन्।

अहिले बहराइनमा आंशिक लकडाउन छ। कम्पनीहरू बन्द भएपनि ठूला परियोजनामा काम चलिरहेको छ। बिहान र बेलुका कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ। दूतावासले नेपाली कामदारहरुलाई सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन आग्रह गरेको छ।