बहराइनमा थप २७ नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुग्यो

काठमाण्डौ – बहराइनमा थप २७ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । यो सँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुगेको छ । यसअघि बहराइनमा २२ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार यसअघि सङ्क्रमित २२ जना नेपालीको अवस्था सुधारोन्मुख रहेको छ ।

कोरोनाका कारण बहराइनमा कार्यरत नेपालीलाई समस्या परेमा दूतावासमा सम्पर्क गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ । राजदूत सुन्दासका अनुसार, पछिल्लो समय खान बस्न समस्या भयो भन्ने गुनासा बढेका छन् ।

‘हिजो मात्रै पनि हामीले एक जना नेपालीलाई १५/२० दिनलाई पुग्ने खाद्य सामग्री किनेर पठाइदियौं, उहाँले दूतावासमा आफूलाई समस्या परेको भनेर जानकारी गराउनुभएको थियो,’ उहाँले भन्नुभयो, ‘कतिलाई नेपाली समुदायले व्यवस्था गरिदिनुभएको छ, तपाईँलाई पनि त्यस्तो समस्या परेमा जानकारी गराउनुहोस् ।’

कोरोनाको जोखिम बढेसँगै गैरकानुनी रुपमा काम गर्ने श्रमिकहरु बढी मारमा परेको उहाँको भनाई छ । लुकेर काम गर्नेहरुलाई रोजगारदाताले काम नदिँदा खान बस्न समस्या भएको र त्यस्तो समस्या हुनेलाई दूतावासले सहयोग गर्ने राजदूत सुन्दासको भनाई छ ।

बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन् । – उज्यालो अनलाइन