यसरी अकाल मृत्युलाई जित्न सकिन्छ : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आफ्नो फेसबुक वालमा जनचेतनामुलक संदेश दिनु भएको छ :

सकारात्मक बिचार, असल भावना, आशाबादी गुण, स्वस्थ्य जीवनशैली, प्रसन्न मन तथा प्रचुर आत्मबलले हाम्रो इम्युनिटी पावर बढ्दछ | तसर्थ तनाब र चिन्तारहित जीवन बाँच्ने अभ्यास गरौँ| संक्रामक तथा मृतकको तथ्यांक हेरेर आत्तिनु जरुरी छैन | हामी बाँच्ने वा मर्ने कोरोना भाइरसले होइन | हाम्रो आफ्नै क्षमताले हो | आफ्नो रोग प्रतिरोधात्मक क्षमतामाथि विश्वास गरौँ| त्यो क्षमतालाई बल पुर्याउन चुरोट तथा रक्सीको सेवन नगरौं | हरिया तथा पोषिला सागसब्जी, मौसमी फलफुल, गेडागुडी, दुध लगायत स्वस्थकर आहार गरौँ | सुत्ने र उठ्ने तालिका अबलम्बन गरौँ | आफना औषधि नियमित सेवन गरौँ | प्रत्येक दिन बिहान र बेलुका आँखा बन्द गरेर ध्यान मुद्रामा बसौं | युट्युबमा महामृत्युंजय मंत्र, गायत्री मन्त्र तथा ॐ मन्त्र लगाएर अन्तरात्मा झंकृत बनाऔं|

महामृत्युंजय मंत्र – ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्। उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्॥

त्यसपछि म स्वस्थ छु, म प्रसन्न छु, म खुसी छु .. जस्ता बाक्य पटकपटक दोहोर्यौनुहोस | आधा घण्टा ध्यान गरेपछि थप आधा घण्टा योग गर्नुहोस् | योगमा श्वासप्रश्वास नियमन गर्न, फोक्सोको क्षमता बढाउन तथा कोष कोषमा अक्सिजनको सिंचाई गर्नको लागि प्राणायाम ( अनुलोम / विलोम ) पनि गर्नुहोस् | त्यसपछि प्रकृतिको बिराटता र जीवनको क्षणभंगुरता महशुष गर्नुहोस् |

हरेक रात सुत्ने बेलामा शब मुद्राको अभ्यास गर्नुहोस् | आफ्नो शरीर भ्रमण गर्नुहोस् | जीवनका प्रमाण अनुभूत गर्नुहोस् | सास फेरेको, मुटु चलेको, नाडी चलेको, स्नायु सक्रिय भएको, पाचन भएको,ज्ञानेन्द्रीय तथा कर्मेन्द्रिय सक्रिय भएको तथा मनको उपस्थिति भएको महशुष गर्नुहोस् | मनमा रहेका राजसिक तथा तामसिक भाव प्रशोधन गरेर सत्व भाव आर्जन गर्नुहोस् | युट्युबमा हठयोग निद्रा ( रविशंकर वा ओशोको ) लगाएर तदनुसार आफुलाई निद्रामा समर्पण गर्नुहोस् |

यो प्रक्रिया ४-५ दिन झन्झटलाग्दो लाग्न सक्छ | त्यसपछि तपाइंले जीवनको वास्तविक आनन्द अनुभव गर्न सक्नुहुनेछ | रोग र ब्याधिलाई जित्ने सामर्थ्य तपाइंले प्राप्त गर्नुहुनेछ | हाम्रा पूर्वजले ऐच्छिक जीवन तथा ऐच्छिक मरण गर्ने क्षमता यसरी नै प्राप्त गर्दथे |

तपाईं कर्ममा हुनहुन्छ | कर्मभोग पुरा नभएसम्म तपाइंको मृत्यु हुँदैन | मृत्यु सबैभन्दा जटिल बिषय हो | त्यो जटिल गन्तब्यमा सजिलै पुग्न सकिंदैन | तसर्थ मनमा जीवन मात्र सोंच्नुहोस, मृत्युलाई खारेज गर्नुहोस् | अस्पताल नभएको युगमा हाम्रा पुर्खा सयबर्ष सजिलै बाँच्दथे | चौरासी पुजा हाम्रो न्युनतम गन्तब्य हो | तसर्थ जीवनवादी दृष्टिकोण राखौं | हरेक बिपदले हामीलाई थप स्पातिलो बनाउँछ |

आत्म अनुशाशन, आत्मबल तथा आत्मशुद्धिले हामीलाई जीवनको गन्तव्यमा क्रियाशील बनाउँछ | हरेक विपदरुपी रात ढलेर अनुकुल दिन आउनेछ | धैर्यतापूर्वक प्रतिक्षा गरौँ |