२ वर्षको बच्चालाई सुई लगाउने बित्तिकै ज्यान गयो, नगर्नुस् भन्दा भन्दै यस्तो गरेका रहेछन् नर्सले

सामान्य झाडापखाला लागेर उपचार गर्न पाेखराकाे फिष्टेल हस्पिटलमा पुर्याइएका २ वर्षिय बालककाे मृत्यु भएकाे छ । बागलुङकाे जैमिनी नगरपालिका १ कुस्मीसेराका दिपकराज सापकाेटाका छाेरा दिव्यासु सापकाेटाकाे शुक्रबार राती मृत्यु भएकाे मृतक बालकका ठुलाेबुबा कमलराज सापकाेटाले बताउनुभयाे ।

“सामान्य झाडापखला लाएर पाेखरा मेडिकल हलमा डा. भाईरत्न शाक्यसँग जाँच गराएपछि, थप उपचारकाे लागि डा. शाक्यले फिस्टेल हस्पिटल रिफर गर्नुभयाे र यहाँ ल्याएका थियाैं,” सापकाेटाले भने – “स्पेशल क्याविनमा भर्ना गरिएकाे थियाे, नर्सले सुई लगाएपछि बाबू बेहाेस भयाे अनि हाेस नै आएन ।” लापरबाहि गरेका कारण भतिजकाे ज्यान गएकाे कमलराजकाे दावी छ ।

बालकलाई शुक्रबार साँझ ६:३० बजे फिष्टेलमा भर्ना गरिएकाे थियाे । राती ८:३० बजे नर्सले सुई लगाए पछि बेहाेस भएकाे र तुरुन्तै आईसियुमा राखिएकाे बालककी ठुलाेममी शिला सापकाेटाले बताउनुभयाे ।

सुई दिएपछि बेहाेस भएका बालकलाई राती ९:१५ बजे डाक्टरले मृत घाेषणा गरेकाे सापकाेटाले बताउनुभयाे । मृतक बालकका आफन्तले नर्सकाे लापरबाहिकाे कारण बालककाे मृत्यु भएकाे भन्दै बिराेध जनाएका छन् ।