बागलुङमा जीप दुर्घटना १४ जनाको मृत्यु (तस्बिर सहित)

कमला घिमिरे,
बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । जिल्लाको बडिगाड गाउँपालिका ७ घोपर्नामा ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा एक बालक सहित १४ जनाको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक झविन्द्र भट्राईले जानकारी दिए । मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र १ बालक रहेको भटराईले बताए । अन्य ३ जना गम्भिर घाईते भएका छन् । एक जनालाई खोलाले बगाएको आशंका गरिएको छ ।

गुल्मीको इस्मा गाउँपालिका ४ दोहोली पैयुँबोटबाट कार्कीहरुको कुलपुजाको लागि बागलुङको निसिखोला गाउँपालिका २ देविस्थान बायोखोला जाँदै गरको जीप दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खडकाले बताए । उनीहरुलाई अहिले प्राथमिक उपचारका लागि बुर्तिबाङ पठाईएको छ ।

सिट क्षमता भन्दा बढी यात्रुहरु राख्दा जीप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।


फोटो : देवीराम घिमिरे