विदेशिएका नेपाली युवाहरुको आवाज “मेरो देश” अष्ट्रेलियाबाट

उज्ज्वल घिमिरे नेपाल एफ.एम हुँदै कालिका एफ.एममा कार्यक्रम संचालक बनेर काम गरे र त्यही बेलादेखि नै उन्लाई गीतसंगीतप्रति आकर्षण बढ्यो । संगीतमा डुब्न मन पराउने उनलाई र्याप गीतले बढी लोभ्यायो ।

र्याप गायनको शुरुवातीतिर लाग्दै गर्दा उज्ज्वल अष्ट्रेलिया उडे २००९ मा । अष्ट्रेलियाको जीवनशैली सोंचेभन्दा भिन्न भएका कारण ब्यस्तताले गर्दा र्याप गायनमा चलेका उनका पाइला अष्ट्रेलिया पुगेपछि रोकिए जस्तै भयो । पढाइ र काम बीच समय व्यवस्थापन गर्दागर्दै वर्षहरु बित्दै गए । पढाइ र कामको व्यस्त तथा संघर्षपूर्ण जीवनशैलीका कारण म्युजिक भिडियो निर्माण गर्न, सांगीतिक क्षेत्रमा बाहिर आउन नपाए तापनि उनले गीतहरु सिर्जना गर्ने भने छोडेनन् ।

संगीत, कार्यक्रम संचालनमा अनुभव बटुलेका उज्ज्वल मनोरन्जनात्मक क्षेत्रप्रति आकर्षित भएकाले अष्ट्रेलिया पुगेको केही वर्षपछि उनले इभेन्टहरु होस्ट समेत गरे । मान्छेभित्रको रुची र त्यसमा केही गर्ने इच्छाशक्ति जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि जीवितै हुने भएकोले करिब दश वर्ष पछि उनले इभेन्ट होस्टसंगै पुन: संगीतलाई निरन्तरता दिने निधो गरे ।

उज्ज्वल अहिले आफ्नो सांगीतिक नाम Ujk बाट स्थापित गर्ने प्रयासमा छन् । अष्ट्रेलियामा रहेर आफ्नो सांगीतिक अभियान अगाडि बढाउन प्रयासरत नेपाली युवाहरुको समूह “Make Money Records” मा आबद्ध उनी मिस्टा चाम्लिङ्ग र समूहका साथीहरुको साथले अझ प्रेरणा मिलेको बताउँछन् ।

Ujk को नयाँ म्युजिक भिडियो ‘मेरो देश’ हालै मात्र युट्युब मार्फत सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोमा उनले विदेशमा बस्ने नेपाली युवाहरुको आफ्नो देशप्रतिको मायालाई शब्दमा उतारेका छन् । Ujk ले आफू अष्ट्रेलिया जाँदाको नेपाल र छुट्टीमा आउँदाको नेपालमा पाएको फरकपनका अनुभवलाई गीत मार्फत उजागार गरेका छन् ।

संगीतको माध्यमबाट नै युवाहरुमा सकारात्मक सोंच र उत्प्रेरणा जगाउन प्रयासरत रहने Ujk बताउँछन् । उनी पश्चिमा शैलीका गीतमा नेपालीपन मिलाएर संगीतप्रेमीहरुलाई नयाँ स्वाद पस्किन चाहन्छन् । उनी आफ्ना र्याप गीतहरु लोकगीत र र्याप गीत सुन्ने दुवैका लागि मन छुने खालका होउन भन्ने चाहन्छन् ।

आफ्नो सांगीतिक जीवनलाई निरन्तरता दिने अठोट लिएका Ujk को यसपाली दशैंमा आमा म्युजिक भिडियो ल्याउने प्रयाशमा छन । बीचको समयमा रेकर्ड गर्न नपाएका गीतहरुलाई समेत उनी छिट्टै म्युजिक भिडियोको रुपमा निर्माण गर्ने योजनामा छन् ।