बाल अधिकारकर्मीबाटै बालिका बलात्कृत ड्राइभर सहित ३ जना प्रहरी खोरमा (भिडियो सहित)

बाल अधिकारकर्मीबाटै बालिका बलात्कृत भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार गुल्मी जिल्ला बाल सञ्जालका अध्यक्षसमेत रहेका मदाने गाउँपालिका–७ बस्ने १९ वर्षीय सुमन पन्थीसहित तीनजनाले दुई बालिकालाई बलात्कार गरेका हुन् ।

पन्थीसहित धुर्कोट गाउँपालिका–६ का २५ वर्षीय गाडीचालक सुरज पन्थी र रेनपा–४ का ३२ वर्षीय ओमबहादुर खत्रीसहित तीनजनाले दुई बालिकालाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । उनीहरूले शुक्रबार बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मीन घलेले बताए । उनीहरूले १७ र १५ वर्षीया दुई बालिका बलात्कार गरेका हुन् । बालिकाहरू १६ गतेबाट परिवारको सम्पर्कमा थिएनन् । शनिबार बालिकाका आफन्तले छोरीहरू खोजतलासको लागि प्रहरीमा उजुरी गरेका थिए ।

प्रहरीले खोज्दै जाँदा बालिकाहरू तम्घासमै फेला परेको प्रहरीप्रमुख प्रहरी उपरीक्षक दीपक बस्नेतले बताए । बालिकालाई सोधपुछ गर्दा घटनाको रहस्य बाहिर आएको बस्नेतले बताए । बालिकाले आफूहरूलाई दुई दिनसम्म सँगै राखेर बलात्कार गरेको र यसअघि पनि यौन शोषण गर्ने गरेको प्रहरीसमक्ष बताएका छन् । आरोपित तीनजनालाई अनुसन्धानकै लागि शनिबार गिरफ्तार गरिएको प्रहरीप्रमुख बस्नेतले बताए ।

भिडियो हेर्नुहोस र जनचेतनाको लागी सेयर गर्नुहोस ।