तन्त्र बिज्ञानका शिखर पुरुष जामन: गुभाजुको जीवनिमा आधारित फिल्म “जामनः गुभाजु”

बज्राचार्य युवा बर्गको समूह बज्राचार्य क्लबले आफ्नो रीति रिवाज, संस्कारलाई बचाइ आफ्नो पहिचानलाई निरन्तरता दिने अभिप्रायले World Bajracharya Award आयोजना गर्ने तयारी गरिराखेकोमा आफ्नो उद्धेस्य प्राप्ती कार्यमा सहयोगी हुने भएकोले क्लबले “जामनः गुभाजु” फिल्मलाई हाल च्यारिटी शोको रुपमा प्रदर्शन कार्यमा महत्वपूर्ण भूमिका निर्बाह गरिराखेको छ । फिल्मको लागि नेपाल भाषाका विभिन्न संघसंस्थाले सहयोग गर्दैछन् । फिल्ममा साउन्ड सिस्टमदेखि लिएर सबैमा अत्याधुनिक एवं गुणस्तरिय प्रविधि प्रयोग गरिएको छ ।

‘जामनः गुभाजु’ ब्याबसायिकभन्दा तात्कालिन नेवार समाज, संस्कृति तथा राष्ट्रिय हितका लागि अमूल्य योगदान दिने ख्यातिप्राप्त तान्त्रिक जामन गुभाजुको जीवनीमा आधारित नेपाली भाषाको ऐतिहासिक चलचित्र हो ।

करिव चार सयवर्ष अघि राजा प्रताप मल्लको शासनकालका काठमाडौ निवासी नामुद तान्त्रिक जामनः गुभाजुले देशमा खडेरी परेको बेलामा जनता राजा प्रताप मल्लकहाँ गुहार्न गएपछि सहकाल ल्याउनका लागि जामनः गुभाजुबाटै दिक्षित राजाले शान्तिपुरमा गएर नागको रगतबाट लेखिएको पुस्तक ल्याएर गुभाजुलाई दिएको कथा पनि यसमा समावेश छ ।

हिन्दुस्तानबाट आएका एक चटकेले देशमा भ्रम फैलाइरहेकाले उनलाई आफ्नो तन्त्र बिद्याबाट नतमस्तक पार्दै देशबाटै लखेटेको कथा लगायत जामनः गुभाजुको नीजि जीवनलाई फिल्ममा उतारिएको छ ।

यस फिल्ममा मुख्य पात्र जामनः गुभाजुका भुमिको सुशिल राजोपाध्यायले निभाएका छन् भने अन्य कलाकारमा सरस्वती मानन्धर, अन्नपूर्णेश्वरी श्रेष्ठ, पुष्कर भक्त माथेमा, ओमशंकर श्रेष्ठ, साकार पन्त, संघ रत्न शाक्य, सुलोचना श्रेष्ठ, उदेन न्हुसायमि, मन्दिरा मानन्धर र लक्ष्मीनाथ तिमिल्सिना आदि रहेका छन् । सुशिल राजोपाध्यायको कथा र पटकथामा बनेको यस फिल्मको निर्देशन रवि सायमीले गरेका छन भने क्यामराम्यानमा भवानी सिलाकार रहेका छन् ।

साथै यस फिल्मको संवादको अँग्रेजी सवटाइटल ओमशंकर श्रेष्ठले लेखेका छन् । गायक गायिकामा गौतम दास मानन्धर, सतिश महर्जत, सरिता महर्जन र रत्नशोभा महर्जन रहेका छन् ।

दि वाइल्ड बसल्स प्रडक्सनका मन्दिरा मानन्धर र जेस्सी पेन्नी इन्टरटेन्टमेन्टका राजेन्द भक्त श्रेष्ठको संयुक्त लगानीमा बनेको यो फिल्मको खर्च चालिस लाख नाघेको छ ।

अहिलेसम्म ५० भन्दा बढी शो गरिएको र सबै फिल्म हाउस फुलका साथ प्रदर्शन भैराखेकोमा अतिथिको रुपमा गत शनिवारको फिल्म हेरिसकेपछि प्रतिकृया दिने क्रममा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले तन्त्र बिज्ञानका शिखर पुरुष तान्त्रिक जामनः गुभाजुको जीवनिमा आधारित यो ऐतिहासिक फिल्म निर्माण गरेर उनीमाथि न्याय त गरेको छ नै त्यसमाथि लोपोन्मुख अवस्थामा पुगेको तन्त्र बिज्ञानलाई श्रब्य दृस्य रुपमा नै भने पनि जसरी जोगाउने महत्वपूर्ण काम गरेको छ त्यस्को लागि संपूर्ण टिमप्रति आभार ब्यक्त गरिनुपर्छ भन्नु भएको छ । उक्त शोमा बज्राचार्य क्लबले फिल्मका निर्देशक रवि सायमी र प्रोड्युसर मन्दिरा मानन्धरलाई सम्मान पनि गरेको थियो ।