अमेरिकामा गण्डकी बोर्डिंग स्कूलको पूर्व विद्यार्थीहरुको संगठनले मनायो अमेरिकी स्वतन्त्रा दिवस

हरेकवर्ष जुलाईको ४ तारिकमा मनाइने यो स्वतंत्रता दिवस अमेरिकामा नेपालीहरुले विभिन्न जमघट गरेर मनाउने गर्छन्। यसपटक पनि नेपालीहरुका बिचमा यो दिवस धेरै प्रकारले मनाइयो। यसै सन्दर्भमा अमेरिकामा रहेका गण्डकी बोर्डिंग स्कूलमा पढेका विद्यार्थीहरुले पनि भेटघाट तथा पुनर्मिलन गरेर मनाए।

गण्डकी बोर्डिंग स्कूल नेपालका अति उत्तम स्कूलहरु मध्येमा पर्दछ। विसं २०२२ सालमा पोखराको लामाचौरमा स्थापना भएको गण्डकी बोर्डिंग स्कूलको पुरानो नाम नेपाली आदर्श विद्यालय थियो। छ जना शिक्षक र ६० जना विद्यार्थीबाट यो स्कूलको सुरुवात भएको थियो र दार्जीलिङको मार्था मुखियाले यस विद्यालयको प्रथम प्रधानाध्यापिका भई नेतृत्व गर्ने अवसर पाउनु भएको थियो।

त्यसै गरि स्कूलको बोर्डमा प्रसिद्ध कवि भूपी शेरचन तथा स्व. राजेश्वर देवकोटा पनि रहनु भएको थियो। यो विद्यालयले चार वर्ष अगाडि मात्रै ५० वर्ष पूरा गरी स्वर्णजयन्ती बनाएको छ। विद्यालयको पचास वर्षको इतिहासमा यसले थुप्रै समाजसेवी, राजनीतिज्ञ, साहित्यकारहरु, डाक्टरहरु, इन्जिनियरहरू, खेलाडीहरू, गायकहरू तथा अन्य विधामा पनि थुप्रै व्यक्तित्वहरु जन्माएको छ। प्रसिद्ध न्युरोसर्जन डा. बसन्त राज पन्त, साहित्यकार सरु भक्त, कवि तीर्थ श्रेष्ठ, प्रसिद्ध खेलाडी दावा गुरुङ तथा प्रसिद्ध गायक अमृत गुरुङ, राजनीतिज्ञ किरण गुरुङ र थुप्रै प्रसिद्ध व्यापारीहरु यसका उदाहरणहरु हुन्।

राजेन्द्र गुरुङले २०४४ सालमा एसएलसीमा बोर्डफस्ट ल्याएपछि यो विद्यालयको नाम अझै चुलीमा पुगेको हो ।

यसै विद्यालयका अमेरिकामा बस्ने विद्यार्थीहरुले एउटा सांगठनिक भेटघाटको जमर्को स्वरुप एउटा सांगठनिक रुप दिएका छन्। अमेरिकाको न्यूयोर्कमा बसोवास गर्ने समाजसेवी तथा व्यावसायि मोहन ज्ञवालीको अध्यक्षतामा यो संगठनले गति लिन सुरु गरेको छ. वरिस्ठ उपाध्यक्षमा तेम्बा शेर्पा, उपाध्यक्षमा धिरेन भारी तथा प्रकाश नेपाल, महासचिवमा हरि रसिक घिमिरे, डम्बर गुरुङ सचिब लगायत अन्य पधादिकारी गरि २५ जनाको कार्यकारी समिती बनाएको छ।

यसैगरी यस संस्थाले एसएलसीको ब्याच (S.L.C गरेको बर्ष) अनुसार सम्पर्क दुतहरु पनि राख्ने व्यवस्था पनि गरेको छ ।