२ हजार ७ सय आवेदकबाट ‘प्रेम गीत ३’ का लागि छानिए टप २५

सर्वाधिक सफल चलचित्र ‘प्रेम गीत’ को सिरिज ‘प्रेम गीत ३’ मा मुख्य अभिनेत्री बन्नका लागी आवेदन दिएकाहरुबाट टप २५ जना युवतीलाई अडिसनका लागी छनौट गरिएको छ । निर्माण टिमले आज शुक्रवार आवेदन दिएकाहरु २ हजार ७ सय १४ जना युवतीबाट टप २५ छनौट गरेको हो ।

आसुसेन फिल्म्स प्रोडक्सनले चलचित्रको मुख्य क्यारेक्टर ‘गीत’ का लागी आसुसेन फिल्म्स डट कम तथा आसुसेनको अफिसियल ईमेलमा आवेदन मागेको थियो । निर्माता तथा निर्देशक सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठ लगायतको टिमले एलिशा, अन्जली, अनुजा, बबिता, दिब्यानी, करोना, कविता, कृष्टिना, कृष्टिना, लक्पा, यानी, श्रद्धा, स्नेहा, तमन्नाह, तनुजा, रुवी, सबिना, सरिना, साक्षी, शिक्षा, मानस्वी, निलम, पुजा, रितु, रिया लगायत छानेको छ । अब, उत्कृष्ट २५ बाट चरित्र, लुक्स, उचाई, अभिनय शैली, सुन्दरता लगायतलाई ध्यानमा राखेर मुख्य अभिनेत्री अर्थात चलचित्रको ‘गीत’ पात्रका लागि छानिने निर्माता सन्तोष सेनले बताए ।

‘प्रेमको जोडि अर्थात ‘गीत’ को लागि आएका आवेदन अधिकांस आकर्षक हुनुहुन्थ्यो, निर्माता सेनले भने, ‘उहाँहरुबाट उत्कृष्ट २५ छान्न हामिलाई निकै हम्मे–हम्मे समेत परेको थियो ।’

‘प्रेम गीत’ मा प्रदीप खड्कासँग पूजा शर्मा, ‘प्रेम गीत २’ मा भने अश्लेषा ठकुरीले रोमान्स गरेकी थिइन् भने ‘प्रेम गीत ३’ मा नयाँ अभिनेत्रीलाई अवसर दिन लागिएको निर्माण पक्षको भनाई छ ।

उत्कृष्ट २५ मा छानिएकाहरुलाई आसुसेन फिल्म्सले फोन सम्पर्क गरेर बोलाउनेछ । केहि महिनापछि छायाँकनमा जान लागेको ‘प्रेम गीत ३’ आगामी चैत २८ मा देशभरका हलमा प्रदर्शन हुँदैछ ।