प्रेमगीत ३ मा नायिका बन्न खोज्नेहरुको घुइचो बढ्दा आवेदनले सर्भरसमेत डाउन

काठमाण्डाै – सुपरहिट फिल्म सिरिज प्रेमगीत ३ खेल्न युवतीको चर्को प्रतिष्पर्धा देखिएको छ । आउँदो चैत २८ को रिलिज डेट तोकेर निर्माण हुन लागेको ‘प्रेमगीत ३’मा नयाँ नायिकाको खोजी भइरहेको छ ।

निर्माता सन्तोष सेनले केही दिनअघि ‘प्रेमगीत ३’ निर्माणको घोषणा गर्दै फिल्ममा नयाँ नायिकाका लागि आवेदन खोलिएको बताएका थिए । नायक प्रदिप खड्कासँग ‘स्क्रीन शेयर’ गर्ने युवतीले आसुसेन फिल्मसको वेबसाइट aasusenfilm.com मा आवेदन पठाउनुपर्ने पनि उनले बताएका थिए ।

तर नयाँ नायिकाका लागि आवेदन मागिएको तीन दिनमै आसुसेन फिल्मसको वेबसाइट सर्भर डाउन भएको निर्माता सेनले बताएका छन् । मंगलबार फेसबुकमा स्टाट्स पोष्ट गर्दै सेनले नयाँ नायिकाका लागि इमेलमा आवेदन दिन पनि आग्रह गरेका छन ।

प्रेमगीतमा प्रदीप खड्का र पूजा शर्माले अभिनय गरेका थिए । प्रेमगीत २ मा भने प्रदीपसँग अश्लेषा ठकुरीले रोमान्स गरेकी थिइन् ।