रिना बस्नेत मृत्यु : पोष्ट म्यारिज अफेयरको ‘मृत’ सबूत

(टिप्पणी)

काठमाडौं, १३ वैशाख । समाचारमा प्रयोग गरिएको तस्बिर स्व. रिना बस्नेतको हो । बस्नेत तिनै हुन् जसको गएको शनिबार राती मृत्यु भएको थियो । रहस्यमय भनिएको उक्त मृत्यु बजारिएको चोटपटकका कारण भएको पोष्टमार्टम रिपोर्टमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उल्लेख गरेको छ ।

उक्त रिपोर्टपछि प्रहरी पनि करिब–करिब बस्नेत मृत्युलाई ‘दुर्घटना’ अथवा ‘आत्महत्या’को निष्कर्शमा पुग्न सक्छ ! पछिल्लो पटक सीसीटिभी फुटेजमा देखिएको ठेलागाडामा ‘लास जस्तै’ चिज ल्याएको भन्ने अनुसन्धान गर्दा बिहान तरकारी बिक्रेता भएको पुष्टि भएपछि प्रहरीसँग अनुसन्धानका अन्य कुनै पाटा देखिँदैनन् ।

रिना बस्नेत मृत्यु प्रकरणका विभिन्न पाटाबाट अनुसन्धान अझै हुन सक्लान् । तर, उनको मृत्यु प्रकरणले तीनवटा पक्षलाई सामाजिक रूपमा र मृत्युपछिको अड्कलबाजी पत्रकारिताको अनुहार पनि खुलाएको छ । अझ, भनौ रिना मृत्यु प्रकरण ‘पोष्ट म्यारिज अफेयरको मृत सबूत बन्यो ‘हतारकारिताको परिबन्ध’मा प्रहरी फस्यो ।

मिडियामा रिनाका १४ बर्षीय छोरा साइमनले दिएको अभिव्यक्ति, पक्राउ गरिएका रिनाका प्रेमी भनिएका कमल नेपालले प्रहरीमा दिएको बयान र वैदेशिक रोजगारीका क्रममा दुबईबाट घटनापश्चात फर्किएका रिनाका पति सन्तोष बस्नेतले दिएको बयानले यसलाई पुष्टि गर्छ ।

उनकी साथी, भाउजूलगायतले पनि पोष्टम्यारिज अफेयर रहेको खुलाएका छन् ।

बेरोजगारीले परिवार कसरी भत्किँदैछ भन्ने प्रमाण पनि रिनाको मृत्यु प्रकरण हो । घटना अनुसन्धानका क्रममा खुलेका केही तथ्यले परिवारमा विचलन ल्याउने लक्षण यस्ता पनि हुन सक्छन् भन्ने संकेत पनि गरेको छ ।

रिना मृत्युको पूर्वसन्ध्याका केही विवरण लक्षण हुन सक्छन् ।

पहिलो, रिना कसैको जन्मदिनको कार्यक्रममा छोरासहित सहभागी हुन पुगेकी थिइन् । त्यसपछि भएको सांगितिक कार्यक्रममा मदिरा पिएर रमाउन पुग्छिन् । घर फर्किँदा पनि मदिरासहित नै आउँछिन् ।

यसले के पुष्टि गर्छ भने वैदेशिक रोजगारमा पति विदेश हुँदा खुला समाजमा रमाउने पत्नी सामाजिक बन्धनबाट पाएको मुक्तिको अधिक प्रयोग गर्छिन् ।

दोस्रो, यहि प्रयोगका क्रममा उनको भेट अथवा कुराकानीको शीलशीला कमल नेपालसँग हुन्छ । यो कुराकानी भौतिक भेट गराउने माध्यम हुँदै प्रेम सम्बन्धसम्म झाँगिन्छ । यस्तो सम्बन्धमा खुसी, आवश्यकता, अनौपचारिकता र आवेग सबैको प्रयोग स्वभाविक बन्ने गरेका समाजका अन्य उदाहरण पनि छन् ।

तेस्रो, छोरासँग प्रेमीको भेट पनि गराएकी रहिछन् उनले । कसरी चिनाउने गर्थिन् त्यो अर्को पाटो भयो । तर, छोराले बयानमा भनेका छन्,‘बाबुलाई यो सम्बन्धबारे भन्ने छुट थिएन । भन्ने कुरै आएन ।’

समाजमा यो चरित्रको मृत प्रमाण रिना भइन् । तर, यो प्रतिनिधि उदाहरण हो । यस्ता सम्बन्धका अनेक आयाम अहिले पनि सहरोन्मुख ठाउँमा पर्याप्त हुन सक्छन् ।

चौथो, पनि सन्तोष बस्नेतले पत्नीको मृत्युपछि मात्र उनको प्रेम सम्बन्ध रहेको चाल पाएको बताएका छन् । ‘यस अघि थाहा थिएन, मृत्यु प्रकरणपछि विभिन्न पाटा खुले । यसै सन्दर्भमा थाहा पाएँ’, उनले भनेका छन् ।

रिनाका पति जस्तै विदेशमा रहेका कतिपय युवा यस्ता सम्बन्धका विविध पाटासँग जानकार हुँदैनन् । पारिवारिक आर्थिक व्ययभार र भविष्यका लागि जोहो गर्न परदेशीएका युवाका लागि यो ‘पीडादायी’ नमूना हुन सक्छ ।

हतारकारिताले निम्त्याएको क्षति

अपराध अनुसन्धान प्रहरीको काम हो । पत्रकारिता आधिकारीकतामा आधारित अनुन्धानका विविध पाटाबाट गरिने तथ्यगत प्रयोग हो । जसले सही सूचना जनतामाझ जान्छ ।

प्रहरीले नै भनेको छ,‘विविध मिडियाको हतारका कारणले अनुसन्धानमा समस्या र पथरीमा आन्दोलनसम्म भयो ।’

कुनै पनि मृत्यु अश्वभाविक हुँदा त्यसमाथि प्रश्न उठाउनु आफन्त र परिवारको सामान्य चलन हो । तर, त्यसमा न्यायाधीश बनेर मिडियाले खेलिदिनु गलत हो ।

यहि गल्तीका कारण रिना बस्नेत प्रकरणले तीन–चार दिन पथरी बजार बन्द भयो, झडपको अवस्था आयो र केही क्षति भयो । सम्भावित क्षतिको आँकलन गरेर नै सूचनाको कसी मिडियामा ल्याउनुपर्छ भन्ने पाठ स्थानीय र राष्ट्रिय मिडियाले बुझ्न आवश्यक बनिदियो घटना ।

रिनालाई बलत्कार पछि हत्या भने पनि रिनाको बलत्कार नभएको रिपोर्ट आएको प्रहरीले बताइसकेको छ । घट्नालाई सरसर्ती हेर्दा उनको हत्या नभई मापसे गरेर आफै वाथरुम जाने बेलामा लडेको हुन सक्ने अनुमान गरिएको प्रहरीले बताएको छ ।

पछिल्लो समयमा युटुबर र अनलाईनहरुले जथाभावी समाचार सम्प्रेषण गरेको प्रहरीको आरोप छ ।