नेपाल फेस्टिबल दक्षिण अष्ट्रेलियाको एडिलेडमा संपन्न

राम कुमार निरौला, अस्ट्रेलिया 

नेपाली कला संस्कृति, रितीरिवाज, परम्परा र ईतिहासको दर्पणको एउटा पर्यायको रुपमा प्रवासी नेपालीहरुमा परिचीत गैर आवासीय नेपाली संघले आयोजना गर्ने नेपाल फेस्टिबल दक्षिण अष्ट्रेलियाको एडिलेडमा हिजो संपन्न भएको छ। नेपाली दुतावास क्यानबेराबाट आएका प्रतिनिधी, दक्षिण अष्ट्रेलियाको राज्य सरकारका प्रतिनिधीहरु, बिभिन्न राज्यहरुबाट आएका एनआरएनए का प्रतिनिधीहरु, अष्ट्रेलियामा रहेका नेपाली संघसंस्थाका प्रतिनिधीहरु, व्यावसायीहरु लगायत एडिलेडमा रहेका नेपालीहरुको बाक्लो उपस्थिती रहेको यस कार्यक्रममा अष्ट्रेलियाली एवं अन्य देशका नागरिकहरुको पनि उल्लेख्य उपस्थिती रहेको थियो। आयोजक संस्था गैर आवासिय नेपाली संघ दक्षिण अष्ट्रलियाका संयोजक श्री अशोक के सी का अनुसार आठ हजार भन्दा धेरै दर्शकहरुले यो मेला अवलोकन गरेका थिए।

नेपाली नया वर्षको अवसरपारी आयोजित उक्त कार्यक्रमका पुर्व सन्ध्यामा नेपाली परेड आयोजना गरिएको थियो। स्थानिय रण्डल मल बाट शुरु भएको परेडमा मुख्य आकर्षकको रुपमा नेपाली नौमति पन्चेबाजा रहेको थियो भने परेडलाई किरात समाज, गुठी दक्षिण अष्ट्रेलिया लगायतका संस्थाहरुको बाजा प्रदर्सन लगायत नेपाली विध्यालय र नेपाली पाठशालाका साना भाईबैनीहरुको संलग्नताले छुट्टै रौनक थपेको थियो। संभवत अष्ट्रेलियाका हालसम्मकै नेपाल फेस्टिवलमा नेपाली पन्चेबाजाको प्रश्तुती पहिलो रहेको र यसले फेस्टिवलको महत्व र यसको उपादेयतालाई नया उचाईमा पुर्याऊन अतुलनिय भुमिका खेलेको कुरालाई परेड तथा महोत्सवमा सहभागि दर्शकहरुले बताए। पन्चेवाजाको प्रस्तुतीलाई यहाका अरु नागरिकहरुले पनि निकै चाख पुर्वक अवलोकन गरेको देखिन्थ्यो।

नेपाली संस्कृतिको एक धरोहरको रुपमा परिचीत नौमती बाजालाई बिदेशि भुमिमा प्रस्तुत गर्न पाएकोमा आफुलाई गर्व महसुस भएको कुरा बताए आयोजक मध्यका एक अगुवा राजु उपाध्यायले। पन्चेबाजा अभियानका एक अभियन्ता रामकृष्ण शर्माले नेपालमै पनि लगभग बिर्सिन लागेको नेपाली मौलिकताको एउटा जगलाई बिदेशि भुमिमा परिचित गराऊन पाऊदा र उपस्थित सबै दर्शकहरुले सकरात्मक प्रतिकृया दिएको देख्दा औधी खुसी लागेको र यसलाई निरन्तरता दिने सोच राखिएको बताए। बाजा बजाउने खास सिप नभए पनि छोटो समयमा सिकेर यहाँसम्म ल्याउन संभव भएको र आगामि दिनहरुमा एडिलेडमा आयोजना हुने कार्यक्रमहरुमा पनि नौमती बाजा प्रस्तुत गर्न सकिने धारणा राख्छन यसै अभियानका अर्का अभियन्ता गणेश पराजुली।

स्थानिय बुद्वीजीवी तथा समाजिक अभियन्ता डा आरके निरौला का अनुसार यस्ता नेपाली मौलिकता झल्किने प्रस्तुतीहरुले नेपालको झल्को मेटिने मात्र नभई नयां पुस्तालाइ नेपाली आफ्नोपनाको ज्ञान दिन सकिने बताउछन। नेपालबाट आएका कलाकारहरु बद्री पंगेनी,काली प्रसाद बाँस्कोटा, जिवन शर्मा, कर्णदाश, मार्कस दाश, तथा स्थानिय कलाकारहरुको साँगितीत प्रस्तुतीले रोचक र अब्बल बनेको महोत्सवले नेपाललाई चिनाऊन एव नेपाल भ्रमण बर्ष २०२० को प्रचार गर्न ऊल्लेख्य भुमिका खेलेको चर्चा गर्दै आयोजक संस्थाका अध्यक्ष अशोक केसी ले संपुर्ण नेपालीहरुको प्रयासले नै यस्तो भव्य कार्यक्रम गर्न संभव भएको भन्दै सबैलाई सहयोगी धन्यवाद ब्यक्त गरेका छन।