२५ जनाको ज्यान गयो बारा र पर्सामा डरलाग्दो हावाहुरीले : उद्धार कार्यमा जुट्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ – आइतबार साँझ आएको हावाहुरीले तराईका केही जिल्लामा ठूलो मानवीय क्षति पुर्याएको छ । बारा र पर्सामा हावाहुरीका कारण अहिलेसम्म २५ जनाको ज्यान गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना घाइते भएको जानकारी दिनुभएको छ । ट्वीटमार्फत उहाले उद्धार कार्यमा जुट्न समेत निर्देशन दिनुभएको छ ।

बारा र पर्सा जिल्लाको केही स्थानमा डरलाग्दो हावाहुरीबाट धनजनको अकल्पनीय क्षति भएको उहाले बताउनुभयो । उहाको ट्वीटमा लेखिएको छ ‘यस आकस्मिक क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्दछु, उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेका छन्, उद्दारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन निर्दे्शित गरिएकोछ’ ।

बाराको फेटामा हावाहुरीले एक इँटा भट्टाको चिम्नी लडाउँदा च्यापिएर तीन जनाको ज्यान गएको छ । त्यस्तै गुडिरहेको गाडी हावाले पल्टाउँदा दुई जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । हताहत हुनेको संख्या अझै बढ्ने सक्ने आशंका गरिएको छ ।
हावाहुरीका कारण सयौँ बिजुलीका पोल ढलेको केन्द्रले जनाएको छ । उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भइसकेको र उद्दारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिनु भएको छ ।
घटनाको विस्तृत विवरण आइसकेको छैन ।