कुवाको भ्यागुतोको भूमि यात्रा

सरगम भट्टराई,

#लघुकथा:

एउटा सानो कुवामा जन्मे हुर्केको भ्यागुतो कसैको बाल्टिनमा अड्क्यो। बाल्टिनमा एकै छिन चचहुईँ गर्दा उसले स्वर्गीय आनन्दको अनुभूति गरिरहेको थियो।

बाल्टिनले जमिनको सतहमा के टेकेको थियो भ्यागुतोले फड्को मारेर उफ्रिहाल्यो। कुवालाई नै आफ्नो संसार ठानेको त्यो भ्यागुतो बाहिरी संसार देख्दा दंग पर्यो। के गर्ने के नगर्ने बडो दुबिधामा पर्यो। कसलाई सुनाऊँ के गरौँ भनेर बडो चन्चल भईरहेको थियो।

आम्मै ! बाहिरको ठूलो संसार देखेर उसले ओठ लेप्र्यायो।उसले ठान्दै आएको आफ्नो संसारमा त साना कीरा फट्यांग्रा र माछाहरु संग त राम्रै राज जमाएको थियो। कुवाको सानो कापमा बसेर बेला बेलामा ट्यार ट्यार गर्दा कुवाका सबै जनावरहरु भ्यागुतासंग अभ्यस्त थिए। तर उसलाई त्यहाँ कसले चिन्ने?

आफ्नो एकल साम्राज्यबाट बाल्टिन हुँदै परिवन्दले फड्किएको भ्यागुतो बाहिर निस्केपछि भने पहिले जस्तो प्रभावशाली बन्न सकेन। त्यहाँ त ऊ भन्दा निकै ठूला पाहाहरु थिए। त्यति मात्र हो र ! हजारौँ किसिमका जनावरहरु संग उसको जम्काभेट हुने नै भयो।

भ्यागुतोले आफ्नो स्वभाव मिल्ने भ्यागुताहरुको समूहमा बस्ने बिचार गर्यो।भ्यागुता मण्डलीमा आफूलाई नेतृत्वमा राम्रो दख्खल भएको कुरा सुनायो। केही दिन आफ्नो नेतृत्वलाई संसारकै उत्कृष्ट नेतृत्व दावी गर्दै संसार बदल्ने सपथ खायो भ्यागुताले।

समय बित्दै जाँदा कुवाको सानो प्वालमा ट्यार ट्यार गर्दा सबै तिर सुनिएको जस्तो लाग्ने उसलाई अहिले आलीको ढिकबाट घोक्रो फूलाएर कराउँदा पनि कतै नसुनिए जस्तो लाग्न थाल्यो, त्यहाँ ठूला ठूला भ्यागुताको अगाडि उसले आफूलाई निरीह ठान्न थाल्यो। पहिले मुखकै वरिपरि आउने किरा फट्याङ्ग्राहरु बाहिर आए पछि भने पर पर खोज्न जानु पर्ने भो, अन्तर्मुखी स्वभावको भ्यागुतो आलीको दुलोमा बसेर आहाराको लागि आँखा तानेर बसिरह्यो।कुन दिन दशा बिग्रेर बाहिर आएँ हूँला भनेर भ्यागुतो डिप्रेशनमै पर्ने खतरा बढ्यो।

कुवाबाट आएको भ्यागुतोले संसारै मान्ने कुवा जस्तो बाहिरको संसार थिएन, संगत गर्दै जाँदा उसलाई सबै खाले जनावरहरु संग घुलमिल सह्य भएन। जता पनि नमिलेको र बिग्रेको देख्ने भ्यागुतोले आफूले केही गर्न चाहेन। आफ्नो सामर्थ्य कतै देखाउन सफल नभएपछि भ्यागुतो बडो बिलखबन्दमा पर्यो। मानव लगायत ठूला ठूला जनावरलाई नजर अन्दाज़ गर्दै आफ्नै जातिका ठूला भ्यागुताहरुलाई उसले प्रमुख दुश्मन मान्न थाल्यो।आफ्नै जातिका भ्यागुतालाई आफ्नो प्रगतिको प्रमुख बाधक भएको ठहर गर्यो।

एउटा रुख मुनिको गोप्य बैठकमा पटक पटक गरी कुवाबाट बाहिर आएका भ्यागुता मण्डलीहरुले बाहिरी संसारमा टिक्न नसक्ने जिकिर गरे। उनीहरु देख्दा घोर्ले भए पनि काम गर्ने जोश जाँगर थिएन,त्यसैले बाहिरी संसार देखि वाक्क भएर पुरानै कुवामा हाम्फाल्ने निर्णय गरे।

कुवामा हाम्फाले पछि सबैले लामो शास फेरे।केहीलाई अब त बाँचियो जस्तो लाग्न थाल्यो। केही थान भ्यागुताहरु पूर्ववत् रुपमै कुवाको कापमा बसेर ट्यार्र ट्यार गर्न थाले।यसरी कापमा बसेर करायो भने कुवाको वरिपरि कुनै खतरा नहुने र एकछत्र आफ्नै राज हुने उनीहरुको जिकिर थियो।

भ्यागुताहरुलाई पुरानै संसार प्रिय लाग्न थालेको जस्तो देखिए पनि मन खुशी थिएन। बाहिरको त्यो सुन्दर संसारको स्वैरकल्पनामा टोलाउनेहरु पनि थिए।तै पनि नीति, नियत, जोश र कर्म सबैलाई आफ्नै पाराले परिभाषा दिए उनीहरुले। कतिपय भ्यागुताहरु बाहिर निस्कन चाहन्थे तर कुवाको पानी प्रदूषित भएकोले कोही बाल्टिन डुबाउन आउन छाडेका थिए त्यसैले बाहिर निस्कन असम्भव प्राय: थियो।

क्षितिज तिर कालो बादल मडारिएको थियो,ठूलो बर्षा पछि बाढी पहिरो आउने प्रक्षेपण गरे मौसमबिद्हरुले। कुवा या त बाढीले भरिने छ या त पहिरो संगै बग्ने ठोकुवा नै गरे। आफ्नै ट्यार ट्यारमा भूलेका भ्यागुताहरुले वायुमण्डलीय परिवेश पत्तै पाएनन्।

एकै छिनमा घनघोर बर्षा भयो,हेर्दा हेर्दै ठूलो पहिरो कुवा माथि नै खस्यो। कुवा पहिरोमा कतै हरायो या बगायो थाहै भएन।

बाहिरका धेरै भ्यागुताहरुले निरीह कुवाका भ्यागुताहरुको कुशलताको कामना गर्दै सुरक्षित गन्तब्यमा पुगिसकेका थिए !

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.