लोक दोहोरी गायिका मंजु भन्छिन : लाइभ कार्यक्रमकै भरमा बाँच्नु पर्छ

नयाँ पुस्ताकी गायिका बिकले ओझेलमा परिसकेको ‘ठाडोभाका’लाई जगाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने धेरै दर्शक तथा श्रोताहरुको आशा र विश्वास रहेको छ । आफ्लाई लोकगायिका भन्न रुचाउने बिकले ठाडोभाका, आधुनिक र चलचित्रका गीतहरु समेत सहजै गाउँछिन् । गाउँमै हुर्के बढेकी गायिका बिकले स्थानीय बालकल्याण उच्च माविबाट एसएलसी र पोखरास्थित नवीन उच्च माविबाट प्लस टु गरेकी छिन् भने व्याचलर अध्ययनका लागि पिएन क्याम्पसमा भर्ना भएकी स्मरण गर्छिन् । उनले वेस्र्टन युनियन गण्डकी लोकदोहोरी तारामा टप ५, रेडियो अन्नपूर्णद्वारा आयोजित लोककवि अलि मियाको जन्मोत्सवको अवसरमा आयोजित दोहोरी गीत प्रतियोगितामा टप ६ मा पुगेकी थिईन् भने विभिन्न मेला महोत्सवमा हुने दोहोरी गीत प्रतियोगितमा प्रथम समेत भएकी थिइन् । लोक संस्कृतिका धनी जिल्लाको रुपमा चिनाएको लमजुङबाटै आफ्नो सांगीतिक यात्रा सुरु गरेकी गायिकाको बेलायत भ्रमण र उनको सांगीतिक यात्राबारे एभरेष्ट टाइम्सका लागि ‘घान्द्रुके कान्छा’ले गरेको कुराकानी ।

मञ्जुजी, कहिले र कसको निमन्त्रणामा बेलायत आउनु भयो ?
गत २०१७ सालको नोभेम्बर महिनामा लमजुङ समाज युकेको निमन्त्रणामा बेलायत आएकी थिएँ । तर, मेरो स्पोन्सर भने अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टका सञ्चालक शेर सुनारज्यूले गर्नुभएको थियो ।
कुन उद्देश्यले आउनु भयो ?
लमजुङ समाज युकेको दसौं वार्षिकोत्सवको शुभअवसरमा गत २५ नोभेम्बर २०१७ साँझ ‘लमजुङ साँझ’ आयोजना भएको थियो । सोही साँझको विशेष प्रस्तुितका लागि आएकी हुँ ।
तपाईलाई नयाँपुस्ताका ठाडो भाकाकी गायिकाको रुपमा पनि धेरैले चिन्छन्, यो कसरी सम्भव भयो ?
म नौ वर्षकी हुँदा लमजुङको सुन्दर बजारमा आयोजित ‘बालमेला’मा विद्यालयको तर्फबाट दोहोरी गीत प्रतियोगितामा भाग लिने मौका पाएकी थिएँ । त्यसबेला देवी गुरुङ बुवाले, ‘यो नानीले राम्रो गाउने रहेछिन्’ भन्दै विभिन्न कार्यक्रमहरुमा सँगै लिएर जानुहुन्थ्यो । त्यसबेला हामीले दोहोरी गीत गाउने गथ्र्यौं भने स्वर्गीय दीर्घराज अधिकारी (भेडीखर्के साइँला), धनराज गुरुङ, काशीमाया र ज्ञानबहादुर परियारले ठाडोभाका गाउनुहुन्थ्यो । मलाई सानैदेखि नयाँ कुरा गर्न मन लाग्थ्यो । उहाँहरुले ठाडोभाका गाउँदा मैले नबुझिक नै छोप्ने गर्थें । पछि मलाई पनि ठाडोभाका गाउन मन लाग्यो । स्थानीय कार्यक्रममा बुवाहरुसँग गाउने गर्थें तर पछि स्वर्गीय दीर्घराज बुवासँग सँगै गाउने अवसर मिल्यो । ठाडोभाका लमजुङको पहिचान पनि र मेरो रुची पनि भएकोले गाउन थालेकी हुँ । तर, म ठाडो भाकाको प्रोफेसनल गायिका भने होइन । यसमा अझै धेरै कुराहरु बुझ्न र जान्नु पर्ने छ ।
तपाईले व्यावसायिक रुपमा कहिलेदेखि गायन सुरु गर्नुभयो ?
मैले अघि नै भनिसकें ९ वर्षकै उमेरबाट दोहोरी गाउन हिँडेकी हुँ । एसएलसीपछि मैले व्यावसायिक रुपमै दोहोरी साँझमा गीत गाउन थालें । विभिन्न मेला, महोत्सव र स्थानीय कार्यक्रमहरुमा गाउँदै जाने क्रममा गायनलाई नै मुख्य पेसा बनाएको करिब ४/५ वर्ष भयो ।
अहिलेसम्म कतिवटा गीत रेकर्ड गरिसक्नु भयो ?
मेरो र अरुको एल्बम गरेर करिब १२÷१३ वटा गीत रेकर्ड गरिसकेको छु ।
तपाईको कतिवटा एल्बम बजारमा आइसक्यो, भनिदिनुहोस् न ?
‘चढेको जवानी’, ‘मीठो बोलीले’, बनकै चरी (सालैजो), रुद्राक्षीको माला गनेर, भविष्यवाणी पशुपति दाइसँगै गाएको छु, भन्दिनँ म धोका खाएको छु, राम्री छु भन्दिनँ र पुरुषोत्तम दाइसँग आमा भन्ने गीत गाएकी छु ।
कहिलेदेखि र कुन गीतबाट तपाई श्रोता तथा दर्शकहरुबीच चिनिनु भयो ?
पहिलो एल्बमबाट खासै चिनिन सकिनँ तर दोस्रो एल्बम ‘मीठो बोलीले’ बाट अलिकति चिचिन थालेको थिएँ भने पशुपति दाइसँगै गाएको भविष्यवाणीबाट भने धेरैले चिन्नु भयो । जुनबेला युट्युवमा १६ लाख दर्शकहरुले हेरेका थिए । त्यसपछि ठाडो भाकाले पनि चिनायो ।
नेपालमा ठाडो भाकाको अवस्था कस्तो छ ?
ठाडोभाका नेपालको धेरैजसो स्थानमा खासै बुझ्दैनन् । यसको लमजुङ, गोर्खा र तनहुँ आसपासका क्षेत्रमा विशेष महत्व रहेको छ ।
ठाडोभाकाले कस्तो सन्देश बोकेको हुन्छ ?
लमजुङमा गठन भएको ठाडोभाका प्रतिष्ठानको अनुसार लोकगीत जन्मेकै ठाडोभाका हो । लोकसंगीतकै धरोहर भनेकै ठाडोभाका हो भन्ने बुझेको छु । त्यहाँबाट नै अरु लोकगीतहरु सिर्जना हुन्छ रे । त्यसैले यसको सन्देश भनेको पनि लोकगीतकै हो ।
कतिवटा ठाडो भाकाका गीत रेकर्ड गर्नुभयो ?
रेकर्ड गरेको छैन । प्रत्यक्ष कार्यक्रममा भने २/३ वटा गाएको छु । तर, युकेमा रहनु हुने धनबहादुर, इन्द्रजीत भेना र भेँडीखर्के बुवासँग गाउने भन्दाभन्दै भेँडीकर्के बुवाको निधन भयो । तर, नेपालमा गएर राजु परियारसँग रेकर्ड गर्ने विचारमा छु ।
यहाँसम्म आइपुग्दा कत्तिको संघर्ष गर्नुपर्‍यो ?
धेरै संघर्ष गर्नुपर्‍यो । त्यसमा पनि हामी महिलाहरुलाई अलि गाह्रो नै हुँदोरहेछ । मैले विद्यालय र घर परिवारबाट पाउनु पर्ने पूरा सहयोग पाएको छु । तर, अहिले म जस्ता कलाकारहरु थुप्रै जन्मिएका छन् । एकातिर प्रतिस्पर्धा छ, अर्कोतर्फ एल्बम निकाल्न धेरै धनराशि खर्च हुन्छ । समग्रमा भन्नुपर्दा निकै संघर्ष गर्नुपर्‍यो ।
अब मञ्जु बिकले संघर्ष गर्नु पर्ला कि नपर्ला ?
किन नपर्नु । यो स्थानलाई कायम राखिराख्न पनि एकदमै गाह्रो छ । एल्बमबाट त्यत्ति आम्दानी हुँदैन । मेला र महोत्सव र विदेशकै भर हो । त्यसमा पनि म यसअघि कतारमा बस्ने लमजुङेहरुकै निमन्त्रणामा पुगेकी थिएँ । त्यसपछि बेलायत आएकी हुँ । लाइभ कार्यक्रमहरुकै भरमा बाँच्नु पर्छ । तसर्थ अझै धेरै संघर्ष गर्नु पर्दछ ।
बेलायतको नेपाली कला र संस्कृतिको अवस्था कस्तो पाउनु भयो ?
बेलायतमा बसोबास गर्नुहुने नेपालीहरुले मलाई पुराना पुस्ताका आमाबुबाहरुले ‘तिमी ठाडोभाका गाउने गायिका होइनौं’ भनेर सोध्नुभयो । विदेशी भूमिमा पनि यसरी ठाडोभाका सुन्ने र बुझ्ने दर्शकहरु पाउँदा मलाई असाध्यै खुसी लाग्यो । बेलायतको धेरै सहरहरुमा आफ्नो कला प्रस्तुत् गर्ने मौका पाएँ । जहाँ–जहाँ म पुगें, त्यहाँ नेपाली कला र संस्कृतिलाई असाध्यै माया गरेको पाएँ ।
अन्त्यमा, बेलायतवासी नेपालीहरुलाई केही भन्न चाहनुहुन्छ कि ?
सर्बप्रथम त बेलायतमा मलाई आमन्त्रण गर्नुहुने लमजुङ समाज युके, स्पोन्सर गर्नुहुने भेटघाट रेस्टुरेन्टका सञ्चालक एवं एनआरएनए युकेका उपाध्यक्ष शेर सुनार, जति पनि मलाई प्लेटफर्म दिनुहुने बेलायतस्थित विभिन्न नेपाली संघ संस्था, आफन्त, दर्शक, शुभचिन्तक र फोटोग्राफर मिलन तमुलगायत सम्पूर्ण मिडियाकर्मीहरुमा हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । साथै, मलाई बेलायतको पहिलो दोहोरी साँझ भेटघाट रेस्टुरेन्ट, अल्डरसटले आउने २० अप्रिल साँझ बिदाइ गर्दैछ । सो कार्यक्रममा सहभागी भइदिनहुन सम्पूर्ण बेलायतवासी नेपाली संगीतप्रेमीहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छु । (एभरेस्ट टाइम्स बाट साभार)

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.