हङकङ र कम्बोडियाबाट भागेका अपराधी नेपाल प्रहरीको फन्दामा

काठमाण्डौं – लागू औषध र ठगी मुद्दामा ‘मोस्ट वान्टेड’ रहेका एक अन्तर्राष्ट्रिय अपराधी पोखरामा पक्राउ परेका छन्। अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले रेड कर्नर नोटिस जारी गरेका दक्षिण कोरियन नागरिक सिउङ्ग वोन लीलाई नेपाल प्रहरीले पक्राउ गरी अध्यागमन विभागमा बुझाएको छ। विभागले उनलाई कोरिया फिर्ता (डिपोट) गर्ने तयारी गरेको छ। उनलाई लिन शुक्रबार दक्षिण कोरियाबाट ३ प्रहरी नेपाल आउँदैछन्।

लागूऔषध मुद्दामा अदालतले १० वर्ष कैद सजाय सुनाएका उनी हङकङ र कम्बोडियामा समेत फरार व्यक्ति हुन्। पोखराको लेकसाइडस्थित न्यु फ्रेन्ड्ली होम होटलमा उनलाई प्रहरीले पक्राउ गरेको हो। एम २५११२९९ नम्बरको पासपोर्ट लिएर उनी नेपाल आएका थिए।

उनी इन्टरनेट मार्फत लाखौं डलर ठगीमा पनि संलग्न रहेको प्रहरी स्रोत बताउँछ। कोरियन प्रहरीले पनि प्राथमिकतामा राखेर उनको खोजी गरिरहेको थियो। ली गत ८ जनवरीमा नेपाल आएका थिए। उनी नेपाल आएलगत्तै एसिबी (नेसनल सेन्ट्रल ब्युरो)–काठमाडौंले सूचना पाएको थियो। करिब एक महिनासम्म उनले प्रहरीलाई झुक्याएका थिए। प्रदेश ४ को प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पक्राउ गरेको हो।

अध्यागमनमै छक्याए

एक महिनाको अनअराइभल भिसा लिएर नेपाल छिरेका उनको दुई साताअघि भिसा सकिएको थियो। उनी अध्यागमनको कालोसूचीमा परिसकेका थिए। तर, पोखरास्थित अध्यागमन कार्यालयबाट उनी आफ्नो भिसा लम्ब्याउन सफल भएका थिए। अध्यागमन कर्मचारीले भने उनले भिसा लिएको समयमा कार्यालयको सिस्टम डाउन भएकाले समस्या भएको बताएका छन्।

प्रहरीले निरन्तर पछ्याएपछि उनलाई पक्राउ गर्न सफल भएको हो। इन्टरपोलको सूचनाका आधारमा लीलाई पक्राउ गरी अध्यागमन विभागमा बुझाइएको प्रदेश ४ का एआईजी कमलसिंह बमले बताए। लीविरुद्ध कोरियामा विभिन्न मुद्दा रहेको आफूहरुले जानकारी पाएको एआइजी बमले बताए।

हङकङको एयरपोर्टबाटै भागे

हङकङमा पनि केही महिनाअघि उनलाई त्यहाँको प्रहरीले पक्राउ गरेको थियो। तर, उनी एयरपोर्टबाटै छक्याएर भागेका थिए। उनी रेड कर्नर नोटिसमा रहेको थाहा पाएपछि एयरपोर्टमै पक्राउ गर्न खोजे पनि उनी भाग्न सफल भएका थिए। पछि कम्बोडियामा पनि उनले प्रहरीलाई छक्याएका थिए। नेपालमा पनि भाग्न सक्ने भएकाले उनलाई विशेष निगरानी गर्न कोरियन प्रहरीले नेपाल प्रहरीलाई आग्रह गरेको छ। – दस्तावेज