प्रचण्ड कमरेड म तपाईलाई ‘गद्दार’ भन्न चाहान्छु !

मनु अछामी।

सुधारवादीहरुले भन्थे परिवर्तन समयको अन्तरालमा आफै हुँदै जान्छ, तर परिवर्तनकारीहरुले यसलाई अस्वीकार गर्दै भने कुरा त्यसो हैन छोटो समयमै यो सामाजिक मानव जिवनमा ठुलो आमूल परिवर्तन ल्याउन सकिन्छ । जसले अत्याचारको जातोमा पिसिइरहेका जनतालाई हाम्रै पालामा मुक्त गर्न सम्भव छ । १० वर्षे जनयुद्धले यो मान्यतालाई स्थापित गराएरै छोड्यो।

त्यो युद्ध विशुद्ध युद्ध मात्रै थिएन त्यो युद्ध त करोडौं श्रमजीवी जनताको मुक्तिको पर्याय, आशाको स्तम्भ थियो। त्यसैले जनयुद्धलाई लाखौं मुक्तिकामी जनताहरुले बलिदानी भावकासाथ पच्छ्याई रहेका थिए । त्यस समयमा नेपाली जनताका लाखौं छोराछोरीहरु आफ्नो जिन्दगी भन्दा जनयुद्दका कमाण्डर प्रचण्डको आदेशलाई प्रिय ठान्दै जीवनका सुनौला सपनाहरू मृत्युसग साटीरहेका थिए ।

नेपालको तानाशाही सामन्ती व्यवस्थाले हाम्रो भूमिलाई रणमैदानमा परिणत गर्दै आएको थियो । यता जनताको सत्ताले त्यो सामन्ती व्यवस्थालाई खुम्च्याउदै लगेर ८० प्रतिसत भूगोलमा जनसत्ता, जनअदालत, जनसेना र जनताकै शासनको अभ्यास लोकप्रिय बनाउदै गएको थियो ।

जनताको अदालतले ठगी, भ्रष्ट्राचारी, बलात्कारी तथा जनविरोधी कार्यहरुलाई अपराध ठहर गर्दै दण्डनीय गर्दा जनतामा कानुनी व्यवस्थाको अनुभुती हुदै गएकै थियो । यसबाट जनताका ठग एवं तानाशाही जल्लादहरु आतंकित बन्दै थिए भने उत्पीडित जनतामा उमंग छाउदै थियोे । हास्न नसकेकाहरु हाम्रो उपस्तिथिमा हास्न थालेका थिए। बोल्न नसक्नेहरु बोल्न थालेका थिए। आँखा नभएकाहरु दुरू दृष्टिले देख्न थालेका थिए ।

वास्तवमा १० वर्षे जनयुद्ध शोषित उत्पीडित जनताका लागि विद्रोह र मुक्तिको ज्योति बनेर आयो भने अर्कोतर्फ बन्दुकको आडमा टिकेको उत्पिडक राज्यसत्तालाई बन्दुककै सहायताले ढाल्न सकिन्छ भन्ने मान्यतालाई स्थापित गरायो । सेना र हतियारद्वारा सुसज्जित राज्यसत्ता सेना र हतियार सहितको जनसागरका सामु आत्मसमर्पण गर्न बाध्य हुन्छ भन्ने तथ्य ऐतिहासिक महान जनयुद्ध अनि ०६२/०६३ मा आउँदा प्रमाणित पनि भयो ।

१० वर्षे जनयुद्धका योजनाकारहरु मध्यकै तपाई मुख्य नायक कमरेड प्रचण्ड त्यो समयमा तपाईंको नाम सुन्ने बित्तिकै जनतामा उत्कण्ठ खुसी छाउथ्यो, अनि हामी कार्यकर्तामा पार्टी, क्रान्ती, र नेतृत्वप्रति उच्च समर्पण भाव पैदा हुन्थ्यो ।

नेपालको दलाल संसदिय व्यवस्थाको अन्त्य र जनवादी व्यवस्था (जनताको सत्ता) स्थापनाका निमित्त लड्ने पार्टीको योजना निती र कार्यक्रमका कारण आखिर त्यो समर्पण भाव पैदा भएको हो । हामी जनसत्ताका सिपाही (छापामार) कार्यकर्ताहरुलाई तपाई र डा. बाबुराम भट्टराईले दिएको राजनैतिक प्रशिक्षण मलाई आज सपना जस्तै लाग्छ ।

तपार्इहरू एक स्वरले भन्दै हुनुहुन्थ्यो : ‘कमरेडहरु हामी सामन्ती राजतन्त्रको विरुद्ध मात्रै लडेका होइनौं, हाम्रो लडाई नेपालको यो दलाल पुजीवादी संसदिय व्यवस्थाकै अन्त गरेर नयाँ जनवादी राज्यसत्ता स्थापित गर्ने, त्यसमार्फत वैज्ञानिक समाजवाद प्राप्तिको आन्दोलनमा अगाडी बढ्ने छौं ।

त्यसैले कमरेडहरु, यो संसदिय व्यवस्था भनेको बाहिर खसीको टाउकाको विज्ञापन गरेर भित्रबाट चाहिँ कुकुरको कुहिएको मासुको व्यापार गर्ने थलो हो । अर्थात यो व्यवस्था भनेको जनतालाई झुक्याएर शासकहरुले लुटको स्वर्ग मच्चाउने व्यवस्था हो ।’ तर आज कमरेड प्रचण्ड, तपाई त्यही फोहोरी व्यवस्थाको अशली पहरेदार बन्नु भएको छ ।

कमरेड प्रचण्डले जनताको सत्ता, सेना, हतियार त्यही पुरानै व्यवस्थालाई बुझाएउदै उत्पीडित नेपाली जनताको क्रान्तिलाई धोका दिएर दलालहरुकै अशली गोटीका रुपमा देशको साशन सत्ता सन्चालन गरिराख्नुभएको छ । देशका दलित, महिला, जनजाति, मधेसी, कर्णाली, सुकुम्बासी अनि उत्पीडित वर्गका समस्याहरु जस्ताको त्यस्तै छन ।

यसरी क्रान्तिको एक लिडर नै प्रतिक्रान्तिको केन्द्र हुनेछ भनेर हिजो हामी थला बसेका बुढा आमा बुबाहरुलाई छोडेर सबै छोराछोरी युद्दमा होमिएका थिएनौ प्रचण्ड कमरेड ! तपाईले देश, जनता, सहिद, बेपत्ता, घाइते, जनमुक्ति सेनाका योद्धा अनि क्रान्तिबाटै देश र आफ्नो सुन्दर भविष्यको सपना सजाएर आन्दोलन (युद्ध ) मा होमिएका हामी कार्यकर्ता सबैलार्इ धोका दिनुभएको छ ।

जसरी इतिहासमा जनतालाई काङ्ग्रेस, एमालेले धोका दिए त्यहि सृंखलालाइ तपाइले पनि निरन्तरता दिनुभएको छ । राष्ट्रको आशा र भरोसा माथि भयावह ढङ्गले तपाईंको नेतृत्वमा भएको प्रतिक्रान्तिको आहालमा जनताको मुक्तिको प्रतिक रातो झण्डा चुर्लुम्म डुबेको छ ।

नेपालमा प्रचण्डको नेतृत्वमा अगाडी बढेको क्रान्ति प्रचण्डकै नेतृत्वमा प्रतिक्रान्तिमा परिणत भएको ९ वर्षपछि प्रचण्डले रछ्यानमा फालेको क्रान्तिको झण्डालाई कमरेड विप्लवले उठाउनु भएको छ, र हामी यसमा गोलबद्ध भएका छौ ।

विप्लव कमरेडको कमाण्डमा स्थापित भएको नेपाल कम्युनिष्ट पार्टी यतिबेला नेपालको क्रान्तिकारी आन्दोलन प्रचण्डको आत्मसमर्पणबाट प्रतिक्रान्तीमा बदलिएपछि निरास भएका जनक्रान्तिका सहिद परिवार, बेपत्ता परिवार, अपाङ्ग र घाइते याेद्दाहरू मात्रै नभएर नेपालको दलाल संसदिय व्यवस्थाबाट उत्पीडनको सिकार भएका सबै आम जनताको आशा र भरोसाको केन्द्र बनिरहेको छ ।

कमरेड प्रचण्ड तपाईलाई यसबारेमा राम्रै हेक्का छ कि नेपालमा फेरि पनि क्रान्तिको झण्डा उठेको छ । झण्डा मात्रै उठेको छैन, यसले आफ्नो बाटो समेत स्पष्ट तय गरिसकेको छ । कम्युनिष्ट पार्टीले लिएको एकीकृत जनक्रान्तिको मार्गले देश र जनताका ठग, भ्रष्ट, तस्कर अनि दलालहरु, राष्ट्रघातीहरु, जनघातिहरुको अन्त्यको दिशा तय गरिसकेको छ ।

कमरेड प्रचण्ड तपाईहरु कथित जनविरोधी संविधान कार्यन्वयनको नाममा गरिएको स्थानीय निर्वाचन एकलौटी तरिकाले लादेर ‘सिंहदरबारको अधिकार, जनताको घर घर’ जस्तो गुलियो नारा भित्र सिंहदरबारमा बसेर राष्ट्रलाई लुटिरहेका दलालहरुको सन्जाल गाउगाउमा फिजाइरहनु भएको छ । अनि हामीलाई शान्तिपूर्ण रूपमा यो जनविरोधी स्थानिय चुनाव खारेजीको प्रचार अभियानमा समेत प्रतिबन्ध लगाएर हाम्रा नेता कार्यकर्तालाई जहाँ भेट्यो तेहि समाउने आदेश दिएर दिनहु गिरप्तार गरिरहनुभएको छ ।

पुजीवादी लोकतन्त्रले नै प्रधान गरेको बोल्न तथा आफ्ना बिचार राख्न पाउने स्वतन्त्रता सम्बन्धि हकको समेत घाँटी निमोठ्दै हाम्रा नेता कार्यकर्ता गिरफ्तार गर्ने, थुन्ने, झुठा मुद्दा लगाउने, यातना दिने जस्ता कार्य भैरहेको छ ।

यस्ता धरपकड र दमनले शान्तिपूर्ण भनिएको चुनावमा जनतालाई धम्क्याउदै भोट हाल्न बाध्य गराउने, जनताका वस्तिहरुमा हतियारधारी सेना र प्रहरीको बाक्लो सहभागिताले आतंक सिर्जना गरेर जनमतको नाटक गरिने यो कस्तो खालको लोकतन्त्र हो तपाईंको ? हिजो “हारे हतकडी जिते संसार !” भन्ने भावनाले जोडिएका तपाई हाम्रा आत्माहरु स्वार्थ बदलिए सँगसँगै आखिर अहिले आएर फेरिएका छन्। वर्ग बदलिएको छ। सामान्त बर्गका बिरुद्ध जनयुद्दको सुरुवात गर्ने कमाण्डर तपाइँ सम्भ्रान्त बर्गमा रुपान्तरण हुनुभएको छ । हामी जहाँको त्यही सर्वहारावर्गको रुपमा जनतामै छौ।

जसले हिजो देखि जनचाहना विरुद्ध, परिवर्तनका विरुद्ध दमन गर्दै आएका छन । बास्तबिक रुपमा जनता यसको एकएक हिसाबकिताब गराउन चाहन्छन । त्यसैले कमरेड प्रचण्ड, तपाईहरु जस्ता जनघातिहरुप्रति इतिहासले क्षमा गर्न सक्दैन ! अन्तिम जीत न्यायीक सत्यकै हुन्छ, यसैका निम्ति जनता क्रान्तिका पक्षमा छन । क्रान्तिसहित इतिहासका गद्दारिहरुको छिनोफानोका पक्षमा छन । अर्को कुरा फेरि पनि स्मरण गराउन चाहन्छु, हामीलाई जेल हाल्दैमा भौतिक शरीरहरुलाई बन्धक बनाउदैमा हाम्रो विचार मर्नेवाला छैन ।

जनताले हिजो तपाईलाई झुपडीहरुमा लुकाएर नै आजको स्थितिमा ल्याए, त्यो तपाईले बिर्सिसक्नुभयो तर आज हामीलाई तिनै हिजोदेखि नै आन्दोलनमा योगदान पुर्याउदै आएका सहिद परिवार, समर्थक, शुभ चिन्तक जनताले संरक्षण गरिरहेका छन्।

तपाईंको दलाल सत्ताको दमनले हामीलाई भुमिगत बनाउन खोज्दै छ । तपाइको गद्दारीले देशमा प्रतिक्रान्ति निम्तिएपछि पुरानो दलाल ब्यबस्थासंग तपाइले आत्मसमर्पण गरेपछि तपाइकै योजनामा दलाल संसदीय व्यवस्थाले देशमा युद्ध थोपर्न चाहदै छ भन्ने कुरा दमनका शृङ्खलाहरुबाट प्रष्ट देखिएका छन । तर हामी यसलाई क्रान्तिमा बदल्न चाहन्छौं । र अन्त्यमा कमरेड प्रचण्ड म तपाईलाई तपाइँ नसच्चिने बेलासम्म निरन्तर गद्दार र धोकेबाज भानिरहेने छु ।

  • संचारकेन्द्र