टुँडिखेलबाट फागुन १९ गते ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश फैलाईने

काठमाडौँ – विश्व कीर्तिमानी परिषद् नेपालले फागुन १९ गते टुँडिखेलमा धम्मपद (बुद्ध वचन) वाचन गर्ने भएको छ। पत्रकार सम्मेलनमा मुलुकको गौरवलाई अन्तर्राष्ट्रिय तहमा फैलाउन आयोजना गर्न लागिएको ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश दिन सर्वसाधारणलाई सहभागी हुन आग्रह गरिएको छ। सो कार्यक्रममा वरिष्ठ चिकित्सक डा. भोला रिजालले विश्वमा शान्ति र अहिंसाको सन्देश फैलाएका बुद्ध नेपालमा जन्मेको भन्नेबारे कुनै पनि भ्रम नरहेको बताउँदै यसले सुनियोजित रुपमा गलत सन्देश प्रवाह गर्नेलाई यथार्थलाई प्रष्ट पार्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका हुन्।

पूर्व उपप्रधानमन्त्री वामदेव गौतम र पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले बुद्धको विचारले अन्तर्राष्ट्रिय तहमा एक अर्बभन्दा बढी मानिसलाई आकर्षित गरिरहेको अवस्थामा उनको नामबाट राष्ट्रलाई चिनाउने कार्य महत्वपूर्ण भएको बताए। सो कार्यक्रमका लागि सदभाव दूत पत्रकार रवि लामिछाने आफूले गिनिज बुकमा नाम लेखाउँदा पनि सोही शीर्षकलाई उठाएको उल्लेख गरेका थिए।
– दस्तावेज