ग्राण्डी अस्पतालद्धारा कोरियन नागरिकलाई उपचारमा सहुलियत

काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नेपालमा रहेका कोरियन नागरिकलाई उपचारमा सहुलियत दिने भएको छ ।

ग्राण्डीले कोरिया एशोसिशयन इन नेपालसँग नेपालमा रहेका कोरियन नागरिकको स्वास्थ्य उपचारमा उच्च प्राथपमिकताका आधारमा विशेष सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

कार्यक्रममा नेपालस्थित कोरियन राजदूत टि योङ पार्क र ग्राण्डी अस्पतालका अध्यक्ष ईञ्जिनीयर दिपक कुँवरको उपस्थितीमा अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छे र कोरिया एशोसियशन इन नेपालका अध्यक्ष जीन योङ यामबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष ईञ्जिनीयर कुँवरले नेपालमा नै विशिष्ट खालको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले ग्राण्डी स्थापना गरिएको बताउनुभयो । दश वर्षदेखि स्वदेशी तथा विदेशी विरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएको उहाँको भनाई थियो ।

नेपालस्थित कोरियन राजदूत टि योङ पार्कले नेपालमा बस्ने कोरियन नागरिकलाई नेपालमा नै गुणस्तरीय स्वास्थ्य सेवा दिने उदेश्यले कोरिया एशोसियशन इन नेपालले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । कोरियन नागरिकलाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न राजदूतावासले समेत सहयोग गर्ने उहाँको भनाई थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा विजुक्छेले स्थापनाकालदेखि नै ग्राण्डीले गुणस्तरीय स्वास्थ्यलाई ध्यान दिँदै आएको बताउनुभयो । उहाँले ग्राण्डीले हाल ३१ विभिन्न विभागमार्फत विरामीलाई स्वास्थ्य उपचार प्रदान गर्दै आइरहेको उल्लेख गर्नुभयो ।

कोरिया एशोसियशन इन नेपालका अध्यक्ष जीन योङ यामले नेपालमा रहेका कोरियन नागरिकले आगामी दिनमा विशिष्टिकृत स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने हेतुले ग्राण्डीसँग सम्झौता गरिएको बताउनुभयो ।

सन् २०१३ मा स्थापना भएको ग्राण्डीले २०० शैयामार्फत विरामीको उपचार गर्दै आएको छ । उक्त अस्पतालमा ४५ आईसीयु र १८ भेन्टिलेटर रहेका छन् ।