कांग्रेस नेताहरूलाई स्वर्णीम वाग्लेको म्यासेज- कांग्रेसमा रहन सकिनँ

अर्थशास्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता स्वर्णीम वाग्लेले आफू कांग्रेसमा रहिरहन अब नसक्ने उल्लेख गर्दै नेताहरूलाई म्यासेज पठाएका छन्।

वाग्लेले आज कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य शेखर कोइरालालगायत केही नेताहरूलाई म्यासेज पठाउँदै अब कांग्रेसमा रहिरहन नसक्ने उल्लेख गरेका छन्।

‘प्रिय दाइ, हजुरहरूको सद्भावका बाबजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो,’ उनले म्यासेजमा उल्लेख गरेका छन्।

उनले अब कृपा र निगाहको राजनीतिमा नबस्ने पनि बताएका छन्।

‘अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेँ। यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौंँ,’ उनले भनेका छन्।

साथै उनले कुनै न कुनै रूपमा पछि आफू जोडिन सक्ने पनि बताएका छन्।

‘कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ। त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु,’ उनले भनेका छन्।

वाग्ले तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुने चर्चा छ।

उनी गत मंसिरमा चितवनमा चुनाव लड्न चितवन १ मा आकांक्षी थिए। उनको नाम चितवन कांग्रेसले उम्मेदवारमा सिफारिस गरे पनि उनलाई उम्मेदवार हुन दिइएको थिएन।