युट्युबरकाे बार्गेनिङले तनावमा ऋषि धमला

टेलिभिजनकर्मी ऋषि धमला र आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबाबीचको ‘लफडा’मा छिरेर केही युट्युबरले पैसा ‘बार्गेनिङ’ गरेको खुलासा भएको छ ।

हालै युट्युबमा सार्वजनिक अडियोअनुसार, एक युट्युबरले धमलासँग लाखौँ रुपैयाँ मागेको खुलेको हो । आफूलाई पत्रकार बताउने मनोजकुमार महतो उर्फ मनोज मानव नामका युट्युबरले धमलालाई गोप्य भिडियो सार्वजनिक गर्ने धम्की दिँदै ‘ब्ल्याकमेलिङ’ गरेको अडियोबाट प्रस्ट हुन्छ । सिराहाका महतो काठमाडौंमा स्टार अनलाइन टीभी नामको युट्युब च्यानलका लागि भिडियो बनाउँछन् ।

आफूलाई पीडित बताउने शर्मिलासँगको संवादमा युट्युबरले पैसा पाएको आधा घण्टामै युट्युबबाट भिडियो डिलिट गरिदिने बताएका छन् । ‘भिडियो नहाली धमलाले टेर्दैन क्या । सबुतसहित हाल्दिऊँ न सिध्याइदिऊँ । त्यसले आखिर तपाईंलाई केही गर्ने होइन’, मनोजले यति भनेपछि शर्मिलाले ‘भिडियो हालेर समाधान छ त ?’ भनेर साधेकी छन् ।

जवाफमा मनोजले भनेका छन्, ‘आधा घण्टामा उडाइदिऊँला नि त्यो भिडियो । फेरि म सबै ठाउँबाट डिलिट गर्न लाइदिन्छु नि पैसा पाएपछि । तर एउटा सबुत पनि चाहियो क्या, केही न केही ।’

आफूलाई ‘जनयुद्ध’को घाइते दाबी गर्ने नरनाथ गौतम नामका व्यक्तिले समेत धमलासँग ‘बार्गेनिङ’ गरेको भिडियो सार्वजनिक भएको थियो । ‘शर्मिला वाइबासँगको सेक्स भिडियो मसम्म आइपुग्यो, के गरौँ’ भन्दै उनले धमलालाई फोन गरेका थिए । पछि उनले आफूले धमलालाई जानकारी मात्रै गराएको बताएका थिए । यति मात्र हाेइन, धमलापत्नी एलिजा गाैतमलाई समेत कतिपयले तनाव दिएको शर्मिला-मनोज संवादको अडियोबाट बुझ्न सकिन्छ ।

यसले के देखाउँछ भने केही युट्युबरले धमला र शर्मिलाको व्यक्तिगत विवादमा छिरेर ‘बार्गेनिङ’ गरिरहेका छन् । तीन दिनअघि फेसबुक लाइभमार्फत शर्मिलाले आफूहरूबीचको विवादमा पसेर युट्युबरहरूले पैसा मागिरहेको बताएकी थिइन् । विवाह गर्छु भनेर धमलाले आफूसँग सम्बन्ध बनाएको आरोप लगाएकी वाइबाले लगत्तै बोली फेर्दै आफूहरूबीच लेनदेनको विवाद मात्रै रहेको बताएकी थिइन् । धमलाले पनि विवाद लेनदेनको मात्रै भएको बताएका छन् । यसबीचमा गोप्य भिडियो हाल्दिने धम्की दिँदै युट्युबरदेखि आफूलाई अभियन्ता दाबी गर्ने कतिपय व्यक्तिसम्मले धमलासँग बार्गेनिङ गरेका हुन् ।

युट्युब च्यानल बीजी टीभीमार्फत सार्वजनिक पछिल्लो अडियोमा मनोज र शर्मिलाबीचको संवाद सुन्न सकिन्छ । मनोज तिनै युट्युबर हुन्, जसले धमलामाथि आरोप लगाइएको शर्मिलाको भिडियो सुरुमा युट्युबमा प्रसारण गरेका थिए ।

सार्वजनिक अडियोमा वाइबा भनिरहेकी छन्, ‘भिडियोहरू नहाल्ने सर्तमा वकिल राखेर मिलेका छौँ ।’ तर मनोजले सबुतसहित भिडियो राखेर धमलालाई सिध्याइदिने बताएका छन् ।