ज्ञानेन्द्र शाहीलाई वाइसीएल अध्यक्षको धम्कीः सीमा नाघेर नबोल्न चेतावनी

नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) का अध्यक्ष सुवोध शेर्पालीले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई धम्की दिएका छन्। शेर्पाले सीमा नाघेर नबोल्न शाहीलाई चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत शेर्पालीले शाहीलाई ‘सीमा नाघेर बोले समय अनुसार मज्जाले जवाफ दिने’ बताएका छन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधित ऐन संसदमा पेश भएपछि शाहीले आपत्तिजनक शब्द प्रयोग गरेपछि माओवादी नेताहरुले विरोध जनाएका हुन् । ‘संबिधानको मर्म भावना र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सरकारको योजनाका विरुद्ध संसदमा ज्ञानेन्द्र शाहीले छनौट गरेको शब्द र अभिव्यक्तिले द्वन्दलाई न्यूनीकरण होइन थप विवादास्पद बनाइ मुलुकलाई थप अस्थिर बनाउने निश्चित छ’ शेर्पालीले भनेका छन्, ‘माननीय जस्तो ब्यक्तिको यस्तो लज्जापुर्ण अभिव्यक्त जति निन्दा गरे पनि अपुग नै हुन्छ ।’

गणतन्त्रको तलब भत्ता खाएर आफ्नो जिम्मेवारी र हैसियतभन्दा बाहिर नबोल्न शेर्पालीले सुझाव दिए । ‘गणतन्त्र नचाहिने, गणतन्त्रका पिता नचाहिने तर युद्ध र आन्दोलनबाट स्थापित यहि संविधान अनुसार माननीय बन्न चाहिँ कुनै अप्ठ्यारो नहुने ? विचार गर्नु समयको रफ्तार भन्दा मनोगत बनेर बेहोसी बन्दा उत्पन्न परिणामको तेजले तपाइलाई पुर्ण होसमा लिदा समयले निकै टाढा पुर्याइसकेको नहोस’ उनले भनेका छन्,‘माननीय ज्यु बोल्न पाइन्छ तर सिमा नाघेर बोले समय अनुसारको जबाफ मज्जाले पाउनुहुनेछ।’