नेपालविरुद्ध बिष्फोटक शतक बनाएका आसिफलाई प्लेयर अफ दी म्याच अवार्ड

काठमाडौं । आईसीसी विश्वकप लिग २ शृंखलाको अन्तिम खेलमा नेपालविरुद्ध आक्रामक शतक प्रहार गरेका यूएईका आसिफ खानले प्लेयर अफ दी म्याचको अवार्ड जितेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पनन खेलमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईका लागि सातौं नम्बरमा क्रिजमा आएका आसिफले यूएईका लागि अविजित १ सय १ रनको इनिङ खेलेका थिए । आसिफले ४२ बलमा ११ छक्का र ४ चौका प्रहार गरेका थिए ।

आसिफको शतकमा नेपालसामु यूएईले ३ सय १० रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । तर, खराब प्रकाशका कारण यूएई डीएल मेथडमा नेपालसँग ९ रनले पराजित भएको थियो ।
यूएईलाई हराउँदै नेपाल लिग २को शिर्ष तीनमा रहेर विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएको छ । नेपालले ३६ खेलमा १९ जित र १५ हारको नतिजासहित ४० अंक जोड्दै नामिबियालाई एक अंकले पछि पारेर शीर्ष तीनमा परेको हो । नेपालसँगै लिग २ च्याम्पियन स्कटल्यान्ड र ओमान पनि ग्लोबल क्वालिफायरमा छनोट भएका छन् ।