अब यस्ता व्यक्तिहरु दुबई र कतार जान नपाउने

अब यस्ता व्यक्तिहरु दुबई र कतार जान नपाउने

काठमाडौं वैदेशिक रोजगार विभागले दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभरमा जान रोक लगाएको छ। वैदेशिक रोजगारीमा घरेलु महिला कामदारका लागि कडाई गर्दै आएको सरकारले बाइक राइडर र ट्याक्सी ड्राइभरमा जान रोक लगाएको हो ।

पछिल्लो समय बाइक राइडर र ट्याक्सी ड्राइभरका रुपमा काम गर्न दुबई र कतार पुगेका अधिकांश श्रमिकहरु समस्या परेको उजुरी तथा गुनासो आएपछि वैदेशिक रोजगार विभागले ती पदको पूर्वस्वीकृति नदिने निर्णय गरेको छ ।

यही फागुन ८ गते विभागले निर्णय गर्दै दुबई र कतारस्थित नेपाली राजदूतावासलाईसमेत उक्त पदहरुको मागपत्र प्रमाणीकरण नगर्न आग्रह गरेको छ ।

विभागकाअनुसार समस्यामा परेका श्रमिकहरुले स्वीकृत मागपत्र बमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको, सहज रुपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भई बस्नुपरेको,अधिकांश श्रमिकहरू धेरै पटक ट्राफिक कारबाहीमा परी ठूलो रकम जरिवाना बुझाउनु परेको र सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासनसम्बन्धी ज्ञान र अनुभवको कमीले गर्दा दुर्घटनासमेत हुने गरेको छ ।

बाइक राइडर र ट्याक्सी ड्राइभरमा पठाउन सुरक्षित नदेखिएकाले अर्को निर्णय नभएसम्मको लागि पूर्वस्वीकृति प्रदानमा रोक लगाइएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए ।