विष्णु खत्रीलाई प्रश्न– लोक तथा दोहोरीगीत प्रतिष्ठान हुँदाहुँदै किन नयाँ संस्था खडा गर्नुपर्‍यो ?

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आठौँ केन्द्रीय महाधिवेशनको अन्तिम तयारी हुँदै छ । यही बेला लोक तथा दोहोरीसहित संगीतका अरू विधालाई समेत समेटेर नयाँ संस्था खोल्ने तयारी गरिएको छ । लोकगायक विष्णु खत्रीसहित केही गायक/गायिकाले नयाँ संस्था खोल्ने तयारी गरेका हुन् ।

संस्था दर्ताको अन्तिम तयारी भइरहेको विष्णु बताउँछन् । “हामी अहिले संस्थाको विधानमा काम गरिरहेका छौँ । अबको एक हप्तासम्म हामी संस्था नै दर्ता गर्नेछौँ,” उनले बाह्रखरीसँग भने । बमबहादुर कार्कीलाई अध्यक्ष बनाएर नयाँ संस्था खोल्ने र संस्थाको नामका विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

विष्णु स्वयं भने उपाध्यक्ष वा महासचिवमा बस्नेछन् । “म महासचिवमा बसेर अग्रजलाई उपाध्यक्षमा राख्ने योजनामा छु । तर, साथीहरूले तपाईं उपाध्यक्षमा बस्नुपर्छ भनिरहनुभएको छ,” उनले भने, “अबको तीन/चार दिनमा यसबारे टुंगो लाग्छ ।” केही दिनमै तदर्थ समिति गठन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

अब गठन गर्ने संस्थालाई लोकदोहोरीमा मात्र सीमित नगर्ने उनले स्पष्ट पारे । लोक, लोकदोहोरी, आधुनिकलगायत संगीतका सम्पूर्ण विधालाई समेटेर हामी संस्था दर्ताको तयारीमा छौँ,” विष्णु अगाडि थप्छन्, “तर, हाम्रो संस्थामा संगीतमा आबद्धबाहेक कोही पनि संलग्न हुन पाउने छैन । आफू संगीतिक क्षेत्रमा क्रियाशील रहेको दुई वा सोभन्दा बढी प्रमाण लिएपछि मात्रै सदस्यता दिन्छौँ ।”

संगीत शुभेच्छुक हुँदैमा कसैले सदस्यता लिन नपाउने पनि उनले स्पष्ट पारे । संस्कृतिविद्लाई संरक्षक तथा सल्लाहकार राखेर संस्थालाई मजबुत बनाउन कुनै कसर बाँकी नछोड्ने उनी बताउँछन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल हुँदाहुँदै किन नयाँ संस्था खडा गर्ने सोचमा पुग्नुभयो भन्ने प्रश्नमा विष्णु भन्छन्, “समुद्र हुँदाहुँदै को पोखरीमा खेल्छ ? हामीसामु समुद्र छ । तर, हामी पोखरीमा खेलिरहेका छौँ । अब पोखरी होइन, समुद्रमा नै खेलौँ भन्ने हो ।” उपत्यका, प्रदेश, विभाग हुँदै ७७ वटै जिल्लामा क्रियाशील बृहत् संस्था बनाउने आफूहरूको लक्ष्यमा धेरैले साथ दिने उनको अपेक्षा छ ।

संगीतका सबै विधालाई समेटेर संस्था स्थापना गर्दा राज्यसँग समन्वय गरेर काम गर्न पनि सहज हुने उनले बताए । प्रतिष्ठान कुनै निश्चित क्षेत्र र विधामा मात्र सीमित रहेको उनको टिप्पणी छ । “संस्था (राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान) लोकदोहोरीमा मात्रै सीमित भयो । त्यसभित्र पनि केही व्यक्तिको सिन्डिकेट छ । पारदर्शी र सिन्डिकेटरहित संस्था बनाऔँ भन्ने हाम्रो चाहना हो,” उनले भने ।

आफैँले दुःख गरेर खडा गरेको संस्था छोडेर किन अर्को संस्था बनाउनुपर्ने अवस्था आयो भन्ने जिज्ञासामा उनको टिप्पणी छ, “म अध्यक्षमा उठ्दा करिबकरिब जितैको हो । तर, यहाँ भोटिङमा बत्ती निभाउने र गैरलोकसंगीतकर्मीलाई भोटर बनाएर ल्याएर आफ्नो पक्षमा परिणाम पार्ने अवस्था छ । केही व्यक्तिले चाहेको मान्छेलाई नेतृत्वमा पुर्‍याउने षड्यन्त्र हुन्छ भन्ने प्रतिष्ठानलाई नजिकबाट नियाल्ने सबैलाई थाहा छ ।”

विष्णुले यसअघि लगातार तीनपटक उक्त प्रतिष्ठानको अध्यक्ष पदमा उमेदवारी दिएका थिए । पराजित भएका थिए ।