गम्भीर विवादमा फसे सुपरस्टार अक्षय कुमार !

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार विवादमा फसेका छन्। उनले आइतबार एक एयरलाइन्सको विज्ञापन सामाजिक सञ्जाल पोस्ट गरेका थिए।

सार्वजनिक भिडिओमा पृथ्वीमाथि हिँडेको दृश्यमा उनले भारतमाथि पनि टेकेका छन्। उनले भारतको नक्सामा हिँडेपछि विवादमा फसेका हुन्।

भिडिओमा अभिनेत्री दिशा पटानी, नोरा फतेही, मोनी रोयलगायत साथमा देखिएका छन्। तर सामाजिक सञ्जाल प्रयोगकर्ताले अक्षयले भारतको नक्साको अपमान गरेको आरोप लगाएका छन्।

उनीहरूले अक्षय क्यानेडियन नागरिक भएकाले भारतको सम्मान नगरेको बताएका छन्। साथै अक्षयले माफी माग्नु पर्ने उनीहरूको माग छ।

अक्षयले कतार एयरवेजको प्रचार गरिरहेका थिए। उनी कतार एयरवेजको प्रायोजनमा आउँदो ३ देखि १२ मार्चमा उत्तर अमेरिकामा हुने महोत्सवमा सहभागी हुँदैछन्। उनले आफूहरू १ सय प्रतिशत देशी मनोरञ्जन लिएर उत्तर अमेरिका जाने बताएका छन्।

सन् २०२२ मा अक्षयको फिल्म ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’, ‘रक्षा बन्धन’, ‘कठपुतली’ र ‘राम सेतु’ प्रदर्शन भएको थियो। तर कुनै पनि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेनन्।

अब उनी फिल्म ’सेल्फी’, ’ओएमजी २’, ’क्यापसुल गिल’ र सुर्याको फिल्म ’सारारई पोटारू’ को हिन्दी रिमेकमा देखिँदैछन्।