संसदमा जात्रा देखिएको झाँक्रीको टिप्पणी

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले संसदमा जात्रा देखिएको टिप्पणी गरेकी छन् ।बुधबार आयोजित आजको ‘नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विचार’ गोष्ठीलाई सम्बोधन गर्दै उनले भनिन्, ‘अहिले हामी संसदमा जात्रा देख्दैछौँ । जुन आन्दोलनको जगमा राजनीतिमा सबै खालको विचारले प्रतिस्पर्धा गर्न पाए । आज त्यही व्यवस्था र संविधानकाविरुद्ध विष बमन यो त पुनरुत्थान हो नि ।’

राजनीति दलहरूले सही ढंगले काम नगरेकै कारणले अहिले जनमत कमजोर भएको उनले बताइन् । अहिले जनतामा देखिएको निरासालाई अन्त्य गर्न काम गरेर देखाउन आवश्यक रहेको उनको भनाइ छ । अहिले जनताले दिएको सच्चिने मौकालाई अवसरको रूपमा लिन पनि झाँक्रीले आग्रह गरिन् ।

सुपरदोर्दी ‘ख’ आयोजना निर्माण सम्पन्न
लमजुङ, २५ माघ ।पिपुल हाइड्रोपावर कम्पनीद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरेको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण सम्पन्न भएको छ । कूल ५४ मेगावाट क्षेमताको यस आयोजनाको सबै काम केही दिनअघि सम्पन्न गरेर यतिबेला डिसेन्टरमा पानी जम्मा गर्ने कार्य भइरहेको आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलले बताउनुभयो । निर्माण सम्पन्नपश्चात् आयोजनाको इन्टेक र डिसेन्टरमा पानी राखेर परीक्षण भइरहेको छ । परीक्षण यही माघ २७ गतेसम्म गरिने र २८ गतेदेखि आयोजनाको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिनेछ ।

मुख्य सुरुङको २०÷२२ दिन परीक्षण गरेपछि बिजुली उत्पादन परीक्षण थालिनेछ । पावर हाउसको मेसिन जडानको काम र केबलिङको काम लगायतको बाँकी काम सम्पन्न गर्दै सम्पूर्ण निर्माण सम्पन्न गरेको यस आयोजनाको पाँच दशमलव एक किलोमिटर मुख्य सुरुङ छ । सबै गरेर १० दशमलव तीन सय ५० किलोमिटर सुरुङ मार्ग छ ।

आयोजनाका अनुसार भारतले गरेको नाकाबन्दी, दोर्दी खोलामा आएको बाढी पहिरो, कोरोना सङ्क्रमण, लकडाउनलगायत कारणले निर्माण अवधि लम्बिएको थियो । आयोजना कूल रु आठ अर्ब ८० करोडको लगानीमा निर्माण कार्य अघि बढे पनि अवधि लम्बिँदा अनुमानित रु १० अर्ब ३९ करोड देखि ५० करोडसम्म पुगेको छ । आयोजनामा सानिमासहित नौ बैंकले ऋण लगानी गरेका छन् । सत्तरी प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र रु २७ करोड लगानी छ ।