धमलामाथि रविले हमला गरेपछी धमलालाई १०३ डिग्रीको ज्वरो..

काठमाडौँ – ऋषि धमला, यो नाम सुन्दा धेरैको मगजमा धेरै खालका आकृति घुम्छन् । कसैले जाँगरिलो कार्यक्रम प्रस्तोता सम्झेलान्, कसैले हल्काफुल्का अन्तर्वार्ताकार । धमलाकाे हमलाबाट अर्काे परिचय बनेकाे छ, मनोरञ्जन दिलाउने व्यक्ति।

प्रश्न र प्रस्तुतिको गहिराई बहसको छुट्टै पाटो होला तर ऊर्जाशील खटाइ र रोचक प्रस्तुति ऋषि धमलाको खास विशेषता हो । अर्को, उनी आलोचना पचाउन सक्ने पात्र पनि हुन् । बेलाबखत उनले अन्य मिडियालाई समेत ‘राजनीतिक खुराक’ दिने गरेका छन् ।

शीर्ष नेतासमेत आफ्ना भनाइ धेरै जनतामाझ पुर्‍याउनुपर्दा सबैभन्दा पहिला धमलालाई नै रोज्न पुग्छन् । जे होस्, सकारात्मक वा नकारात्मक कारणले धमला चर्चाको केन्द्रमा रहिरन्छन् ।प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम धमलाको चर्चित शो हो ।

यो कार्यक्रममा धमलाले नेताहरूलाई जुधाउनेदेखि बार परिसरमै लाप्पा खेलेका वकिलहरूलाई मिलाउनेसम्मको काम गरिसकेका छन् । हिजो कार्यक्रमको पहिलो भागमा धमला एक्लै देखिए । ज्वरोले थला परेका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘जोकर’को संज्ञा दिएपछि जुरुक्कै उठेर कार्यक्रम चलाउन आएको धमलाले प्रस्टीकरण दिए ।

‘मलाई १ सय ३ डिग्रीको ज्वरो आएको छ’ भन्दै कार्यक्रममा देखिएका उनले टीभी स्क्रिनबाट रविलाई ९ मिनेटजति ‘पाठ’ पढाउन भ्याएका छन् । आफ्नो कार्यक्रम युट्युबमा हाल्नुअघि धमलाले ‘हेडलाइन’ आफैं राख्छन्, अरुले राखेको भए उनले सहमति दिएपछि मात्रै युट्युबमा राखिन्छ ।

हिजो धमलाले बोलेको भिडियोको हेडलाइन ‘ऋषि धमलाले किन गरे रवि लामिछानेको प्रशंसा ? चुनाव जितेर प्रधानमन्त्री बन्ने घोषणा’ भन्ने राख्न लगाएका छन् । भिडियोमा उनले पूर्वाग्रही भएर आफूले पत्रकारिता गरेको प्रमाण लिएर आउन रविलाई चुनौती मात्र दिएका छैनन्, पुष्टि भए पत्रकारिता नै छोडिदिने घोषणा गरेका छन् ।

साथै रविलाई सोचविचार गरेर बोल्न चेतावनी पनि दिएका छन् । हेडलाइनमा भनिएजस्तो प्रधानमन्त्री बन्ने दाबी गरेका छैनन् भने प्रशंसाको साटो पाठ ज्यादा पढाएका छन् । ७ मिनेटजति रविलाई ‘ननस्टप’ उपदेश दिएपछि धमला भन्छन्, आजको कार्यक्रममा हामी यसै विषयमा चर्चा गर्न चाहन्छौँ ।

त्यसपछिको भागमा उनी ‘हाम्रो देशका सञ्चारकर्मीहरू के गलत समाचार सम्प्रेषण गर्ने व्यक्ति हुन् त ?’ भन्ने प्रश्नका साथ पूर्वसञ्चारमन्त्री एवं जसपा नेता राजकिशोर यादवसित अन्तर्वार्ता लिएर आउँछन् । बिरामी धमलाले करिब ३५ मिनेट यादवसँग अन्तर्वार्ता गरेका छन् ।