इन्गेजमेन्ट गरेको महिना दिन नबित्दै अम्बानीका छोरा अनन्तमाथि यो के आइलाग्यो ? यो झन्झटबाट नराम्रोसंग फसे अनन्त !

काठमाडौं । अहिले भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा अनन्त अम्बानीको बिहेको खबरले दिनहुँ स्थान पाइरहेको छ। फोर्ब्स सूचीका अनुसार भारतकै दोस्रो तथा संसारका दसौं धनी मुकेश अम्बानीका कान्छा छोरा हुन् अनन्त।

उनको बिहेको चर्चा हुनु यति कारण मात्र काफी छ। तर अनन्त र उनकी हुनेवाला श्रीमती राधिका मर्चेन्टको तस्बिर दैनिकजसो सामाजिक सञ्जालमा आउनुको कारण यो मात्र होइन। धेरैले अनन्तको वजनलाई लिएर ट्रोल समेत गरेका छन्।

२७ वर्षे अनन्तको वजन दुई सय किलोभन्दा धेरै भएको बताइएको छ। राधिका र उनको इन्गेजमेन्टका भिडिओ बाहिरिएपछि उनी अत्यधिक मोटाएको सार्वजनिक भएको थियो। मोटोपनलाई लिएर सामाजिक सञ्जालहरूमा राधिका र अनन्त दुवैलाई नराम्रा टिप्पणी गर्नेहरूको पनि कमी छैन।

तर धेरैलाई अनन्तको स्वास्थ्य अवस्थाका बारेमा थाहा नभएर उनीमाथि भद्दा टिप्पणी गरिएको खबरहरू पनि भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।अनन्तकी आमा निता अम्बानीले छ वर्षअघि टाइम्स अफ इन्डियासँग कुराकानी गर्दै छोराको स्वास्थ्य र मोटोपनबारे बताएकी थिइन्।

निताका अनुसार अनन्तलाई दमको रोग छ। सानैदेखि यो समस्याबाट पीडित उनी शारीरिक रूपमा कमजोर थिए। उनी बलियो हुन् भन्नका लागि परिवारले उनलाई स्टेरोइडहरू दिने गरेको थियो। त्यस्तै दमका लागि थुप्रै औषधिहरू चलाइयो। यसकारण उनको तौल अस्वाभाविक रूपमा बढ्दै गएको थियो।

टाइम्स अफ इन्डियाका अनुसार दमका बिरामीलाई गम्भीर अवस्था भएर अस्पताल भर्ना गरिरहनु नपरोस् भनेर चिकित्सकहरूले खाने स्टेरोइडहरू दिने गरिन्छ। दम रोग लागेकाले शारीरिक व्यायाम गर्दा झनै गाह्रो हुने सम्भावना हुन्छ। लामो समयसम्म स्टेरोइडहरू खाँदा कसैलाई सामान्यभन्दा धेरै भोक लागिरहने हुन्छ। त्यसकारण यस्ता बिरामीको वजन बढ्दै जाने हुन्छ।

अनन्तको मोटोपनको समस्या पनि यही कारणले सुरू भएको उनकी आमा निताले बताएकी थिइन्। अनन्तका दाइदिदी आकाश र इशा जुम्ल्याहा हुन्। ऊबेला निता र मुकेशको सन्तान नभएपछि उनीहरूले चिकित्सकको सल्लाहमा आइभिएफ विधि अपनाएका थिए।

आकाश र इशा जन्मिएको तीन वर्षपछि अनन्तको जन्म भएको थियो। त्यो बेला सञ्चारमाध्यमलाई निताले दिएको एक अन्तर्वार्तामा अनन्तको जन्म आफ्ना लागि चमत्कारसरह भएको बताएकी थिइन्।

निताले टाइम्स अफ इन्डियालाई अनन्तको स्वास्थ्य अवस्थाबारे जानकारी दिनुअघि उनले आफ्नो तौल एकदमै धेरै घटाएका थिए। १८ महिनासम्म दैनिक ६ घन्टा व्यायाम गरेर उनले १०८ किलो तौल कम गरेका थिए। त्यसअघि पनि उनी दुई सय किलोभन्दा धेरै थिए। त्यो बेला उनले तौल घटाएको विषयले निकै चर्चा पाएको थियो।

यसबारे बोल्दै निताले भनेकी थिइन्, ’उसको मोटोपनसँगको लडाइँ जारी नै छ। धेरै बच्चाहरूलाई यो समस्या भएको छ र उसको परिवारले यो कुरा स्वीकार गर्न सकिरहेका छैनन्। तर मलाई लाग्छ हामीले आफ्ना बच्चालाई सकारात्मक ऊर्जा र प्रेरणा दिनुपर्छ।’

सन् २०१६ मा वजन घटाएपछि इन्टरनेटमा छाएका अनन्तको केही समयसम्म वजन बढेको थिएन। उनकी प्रेमिका राधिकासँगका केही वर्षअघिका तस्बिरहरूमा पनि अनन्त मोटाएका देखिँदैनन्।

तर पछिल्लो समय उनको वजन फेरि बढेको छ। भिडिओहरूमा हेर्दा उनलाई हिँड्न समेत मुश्किल भइरहेको देखिन्छ। उनको तौल फेरि कसरी बढ्यो भन्नेबारे विभिन्न अड्कलबाजी पनि भइरहेको छ।

उनले आफ्नो व्यायाम र खाने शैलीमा ध्यान दिएनन् वा उनको स्वास्थ्यमा पुनः समस्या आयो? धेरैले यो जिज्ञासा राखे पनि अम्बानी परिवारले यसबारे कुनै प्रतिक्रिया नदिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अम्बानी परिवार अहिले परिवारको कान्छो सदस्यको बिहेको तयारीमा छ। गत डिसेम्बरमा अनन्त र राधिकाको इन्गेजमेन्ट भएको थियो। सुरूमा परम्परागत विधिअनुसार ’रोका’ गरेका उनीहरूले तीन सातापछि औपचारिक इन्गेजमेन्ट गरेका थिए।

अनन्तकी हुनेवाला श्रीमती राधिका इनकोर हेल्थकेयरका सिइओ विरेन र शैला मर्चेन्टकी छोरी हुन्। राधिका र अनन्त सानैदेखिका साथी भएको बताइएको छ। अम्बानी परिवारका विशेष समारोहका सार्वजनिक तस्बिहरूमा राधिकालाई देख्न सकिन्छ। (भारतीय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको)