साउदीबाट कफिनमा फर्किएका ‘कमान्डर’को मृत्यु भएको १५ दिनपछि दाहसंस्कार

जुम्ला — धन कमाउले लक्ष्य बोकेर विदेश गएको छोरा बाकसमा फर्किएपछि जुम्ला तातोपानी–३ लिताकोटकी एकुमाया कार्की भक्कानिइन् । पैसा कमाउन विदेश गएका छोरा बाकसमा फर्किएपछि उनको होसहवास उडेको छ ।

साउदीमा फलाम कारखानामा काम गर्दै आइरहेका ४० वर्षीय तिलकबहादुर कार्की गत पुस २८ गते सुतेकै अवस्थामा मृत भेटिएका हुन् । उनी २०७८ पुस २८ गते नेपालबाट गएका थिए ।

मृत्यु भएको १५ दिनपछि उनको शव बिहीबार बिहान घर पुर्‍याइएको थियो । बुवा कल्चु कार्कीले मृत छोराको शव राखिएको बाकसको ताला खोल्दा परिवारमा रुवाबासी चलेको थियो । तिलकको बिहीबार नै दाहसंस्कार गरिएको छ ।

तिलककी श्रीमती लक्ष्मी श्रीमान् शव लिन काठमाडौं पुगिन् । भावविह्वल अवस्थामै उनी काठमाडौं पुगेर फर्किइन् । उनीसँगै काठमाडौं गएका नातेदार रामकृष्ण न्यौपाने भन्छन्, ‘कमाउने उमेरमा दैवले खोसेर लग्यो । परिवार विचल्लीमा छ । यो सबै बेरोजगारीको उपज नै हो ।’

गोलीको छर्रा बोकेर साउदी गएका लडाकु कमान्डर कफिनमा फर्किए
तिलकले पुस २६ गते बेलुकीपख फोन गरेर आफू बिरामी भएर निको भइसकेको बताएका थिए । त्यो दिन उनले परिवारका सबै सदस्यसँग कुरा गरेका थिए । तिलकका आमाबुवा,श्रीमती दुई छोरा र एक छोरी छिन् । तिलकसँगै उनका जेठा बुवाको छोरा बखतबहादुर पनि सँगै साउदी गएका थिए । तिलकको मृत्यु भएपछि उनले नै घरमा जानकारी दिएका थिए । तिलक तत्कालीन नेकपा माओवादीको सेक्सन कमान्डरसमेत थिए ।

२०६१ मा भूमिगत भएका उनको घरनजिकै २०६२ सालमा नेपाली सेनासँगको भीडन्तमा शरीरमा छर्रा लाग्यो । तीन वटा छर्रा शरीरमै हुँदा पीडा खेपिरहेका उनी उपचारमा राहत मिल्ला भनेर विदेसिएका थिए । ‘शरीरको छर्रा निकालौंला । छोराछोरीलाई लेखपढ गराउँला भनेर साउदी पुगेका थिए,’ आफन्त भक्तबहादुर रावल भन्छन्,‘न परिवारमा खुसी मिल्यो न त शरीरको छर्रा नै निकाल्न पाए । झनै परिवार विचल्लीमा छोडेर गए ।’

तिलकले पटक–पटक शरीरको छर्रा निकाल्ने प्रयास गरे । तर आर्थिक अभावका कारण सफल भएन । पटक–पटक उनी संलग्न माओवादी सरकारमा पुग्यो । तर उनको समस्या सम्बोधन हुन सकेन । पटक-पटक पार्टी सरकारमा गए पनि र ‘जनमुक्ति सेना’ कै सर्वोच्च कमान्डर प्रधानमन्त्री भए पनि तिलकको दुःख हटेन । परिवारको आर्थिक अवस्था सुधार्न साउदी गएका उनी भने बाकसभित्र आए ।

तिलकले महिनामा ३४ हजार नेपाली रुपैयाँ कमाउँथे । उनले मंसिरसम्मको तलब घर पठाए । लिताकोटका कार्की टोलमा करिब ६० घर छन् । कार्कीटोलबाट करिब ६० कै हाराहारीमा खाडी पुगेका छन् । तिलकको मृत्युले जुम्लाको शान्त तिलाकोट गाउँ शोकमा डुबेको छ ।

कार्कीको शव नेपाल ल्याउनका लागि जुम्लाकी सांसद छिरिङ ल्यामु लामा तामाङलगायतले सहयोग गरेका थिए । सांसद तामाङले मृतकका परिवारलाई सहयोग गर्न सरकारसँग आग्रहसमेत गरेकी छिन् ।

यो पनि पढ्नुहोस् :
लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोक गायनमा क्रियाशील थिए। पछिल्लो समय लाइभ दोहोरीमा चर्चित भएका भीम केही समयदेखि अस्वस्थ थिए।

स्याङजास्थित आफ्नै निवासमा भीमको निधन भएको हो। उनी केही समयदेखि डिप्रेसनका कारण बिरामी परेको उनी निकटका साथीहरुले सामाजिक सञ्जालमा लेखिरहेका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले पनि उनी केही समयदेखि बिरामी रहेको बताएका छन्।

उनको पार्थिव शरीरलाई आज पोखरा लैजाने तयारी गरिएको छ । पौडेलको के कारणले ज्यान गयो भने अहिले सम्म खुल्न सकेको छैन तर उनी डिप्रेसन रहेको कतिको भनाइ छ । लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय भीमले दोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेका थिए। लाईभ दोहोरी मार्फत छोटो समयमै उनी निकै चर्चामा थिए ।

पछिल्लो समय कलाकारहरु धेरै डिप्रेसनमा जाने खबर आइरहेका छन् । दोहोरी गायक भीम पौडेलको श्रदान्जलीका लागि राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका केन्द्रीय सचिब जिबन दाहाल दाईको टिम,इन्द्रेणी को कृष्ण कंडेल दाईको टिम सहित रबिन लामिछाने लगाएतको टिम पोखरामा जाने तयारी गरेका छन् ।

दोहोरी गायक भिम पौडेलको सब अहिले ११ बजे स्याङ्जा देखि कास्कि पोखराको राम घाटमा ल्याएर अन्तिम श्रध्दाञ्जलि पछि दाह सस्कार गरिने परिवारले जानकारी गराएका छन् । भीमलाई सम्झँदै अध्यक्ष विजी भन्छन्, ‘उसले प्रतिस्पर्धा गरेका थुप्रै प्रतियोगितामा म नै निर्णाय थिएँ। राम्रो प्रतिभा भएको मान्छे हो।’

रमेश भीमको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षती बेहोरेको बताउँछन्। भन्छन्, ‘भीम शालीन स्वभावको प्रतिभावान गायक हुन्। उनको निधन समग्र लोक दोहोरी क्षेत्रकै लागि अपुरणीय क्षति हो। दोहोरी गायक भीम पौडेलको आजै पोखराको राम घाटमा अन्तिम संस्कार गरिने भएको छ।