सोविता गौतमको सपना चकनाचुर, रास्वपाले किन गर्यो यस्तो निर्णय ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमको उपसभामुख बन्ने सपना चकनाचुर भएको छ । सत्ता साझेदार दलमा भएको भागबण्डाको समयदेखि नै उपसभामुखको बन्ने चर्चामा रहेकी उनलाई पार्टीले उम्मेदवार नबनाएको हो ।

उनले निकटस्थसँग समेत आफू उपसभामुख बन्न लागेको बताउँदै आएकी थिइन् भने कतिपयबाट आउने बधाईसमेत उनले स्वीकार गर्न थालिसकेकी थिइन् ।

तर, शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकले सोवितालाई उपसभामुख नबनाएको हो । पार्टीले उनको सट्टा अर्की सांसद इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सोविता काठमाडौँ क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा निर्वाचित भएकी हुन् । यता राना भने एनजीओकर्मी पृष्ठभूमिकी हुन् ।

सत्ता गठबन्धनमा भएको भागबण्डाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाएको हो । सोहीअनुसार आज रानाले उम्मेदवारी दर्ता गराउँदैछिन् ।