बहुविवाहको आरोप लागेका जिल्ला न्यायाधीश गिरीलाई पक्राउ गर्न माग गर्दै सर्वोच्च परिसरमा प्रदर्शन

काठमाडौं– बहुविवाहको आरोप लागेका कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन भएको छ।

मंगलबार उनकी श्रीमतीलगायत महिलाहरूले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेकी हुन्। न्यायाधीश गिरीकी श्रीमती आरती गिरी रावलले अपराधीलाई कारबाही

नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन भन्दै बिरोध गरेको बताइन्। गिरीमाथि कारबाही प्रक्रिया अघि नबढेको भन्दै पीडित महिलाले मंगलबार सर्वोच्च अदालत अगाडि कालो कपडा लगाएर कपाल फाल्दै प्रदर्शन गरे।

प्रदर्शनमा सहभागी बिनु यादवले आफूहरु धेरै पटक न्याय परिषद्‌मा गएपनि मुद्दा नै दर्ता नगरेको र पीडितका कुरा सुनुवाइ नभएको बताइन्। उनले आफ्ना मागहरू अझै सुनुवा नगरे बिरोध प्रदर्शनलाई अघि बढाइरहने चेतावनी दिइन्।

उनले आफू समेत काका ससुराबाट पटकपटक बलात्कारकारको प्रयासमा परेको तर अहिलेसम्म पनि पीडकलाई कारबाही हुन नसकेको बताइन्।

‘न्यायाधीश भुवन गिरी हुनुहुन्छ, उहाँको श्रीमती हो आरती गिरी। हामी धेरैपटक भइसक्यो, न्यायालय धाएको तर प्रक्रिया अघि बढाइदिनुभएको छैन’, उनले भनिन्, ‘न्यायका लागि हामीले आत्मदाह गर्नुपर्ने हो? हामी पीडितहरु अब सडकमा उत्रिएर आन्दोलन गर्नेछौँ। काका ससुरा पर्नेबाट पटकपटक बलात्कारको प्रयास भयो ममाथि। उसलाई खोइ सजाय? हामीलाई न्याय दिएको खै?’