गाडिएको अवस्थामा ८ वर्षिय बालकको शव भेटियो; आमा र सौतेनी आमा पक्राउ

डडेलधुरा । डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ। आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो।

घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन गरेर निकालिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसुमबहादुर नायकले जानकारी दिए।

उनका अनुसार घटनाको अनुसन्धानका लागि मृतक बालककी आमा ३४ वर्षीया कलामती र सौतेनी आमा ३० वर्षीया जानकीलाई नियन्त्रणमा लिइएको छ। मृतक बोहरा यही पुस १२ गतेदेखि घरपरिवारको सम्पर्कमा थिएनन्।

उनको परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजबिन गर्दा शव खाल्डोमा पुरिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक नायकले बताए। घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ।

ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु
धनगढीः ट्याक्टरको ठक्करबाट कञ्चनपुरमा साइकलयात्रीको मृत्यु भएको छ। जिल्लाको बोदकोट नगरपालिका वडा नम्बर ७ लालपुरमा ट्याक्टरले ठक्कर दिँदा २३ वर्षीय तारा मल्लको मृत्यु भएको हो। उनलाई शनिवार साँझ ५ बजे तिर पूर्व–पश्चिम राजमार्गमा ट्याक्टरले ठक्क दिएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार मृतकको झोलाभित्र तारा मल्ल लेखिएको परिचयपत्र फेला परेको थियो।। त्यसमा ठेगाना बेदकोट नगरपालिका–१ लेखिएको छ। परिवारका सदस्य सम्पर्कमा आएको र मुचुल्काको काम हुँदै छ। पश्चिमबाट पूर्वतर्फ आइरहेको म २ त १०३५ नम्बरको ट्याक्टरले ती युवतीलाई ठक्कर दिएको थियो।