लोकगायिका नीरा छन्त्यालको निधनमा सोमबार देशभरका दोहोरी साँझ बन्द हुने

काठमाडौं । यती एयरको विमान दुर्घटनामा निधन भएकी लोकगायिका नीरा छन्त्यालको निधनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सोमबार देशभर शोक मनाउने भएको छ ।

प्रतिष्ठानको आइतबार बसेको आकस्मिक बैठकले सोमबार सबै कार्यक्रम रद्द गर्नेदेखि देशैभरका दोहोरी साँझ पनि बन्द गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठान अध्यक्ष रमेश बीजीको अध्यक्षतामा बसेको बैठकले सदस्य समेत रहेकी गायिका छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई अपुरणीय क्षति पुगेको समेत विज्ञप्तिमा उल्लेख छ ।

२२ वर्षिया गायिका छन्त्यालको निधनले संस्था शोकमग्न भएको पनि उल्लेख छ । गायिका छन्त्याल लाइभ दोहोरीकी चर्चित गायिका समेत हुन् ।