सन्दीपलाई ‘सिलसिलाबद्ध रूपमा फसाउन खोज्ने’हरू को हुन् ?

काठमाडौं । बलात्कारको अभियोग लगाइएका क्रिकेटर सन्दीप लामिछानेको मंगलबार (हिजो) काठमाडौं जिल्ला अदालतमा बयान लिइएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान लिइएको हो ।

उनी पक्षका कानुन व्यवसायी अधिवक्ता मुरारी सापकोटाका अनुसार सन्दीपले आफूलाई सिलसिलाबद्ध रूपमा फसाउन खोजिएको बयान अदालतमा दिएका छन् ।

सन्दीपले प्रहरी, नेपाल क्रिकेट संघ (क्यान)का अधिकारी र अदालतमै आफूलाई नियोजित रूपमा फसाइएको बताएका छन् । उनले बयानका क्रममा कसैको नाम लिएका छैनन् । तर, उनले केही राष्ट्रिय टोलीकै क्रिकेट खेलाडी, पूर्वखेलाडी र क्यानकै केही व्यक्तिप्रति संकेत गरेको बताइएको छ ।

क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएपछि सन्दीपलाई राष्ट्रिय टोलीको नेतृत्व दिइएको थियो । त्यसपछि राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू दुई समूहमा विभाजित भएका थिए । त्यो विभाजनको असर विभिन्न अन्तर्राष्ट्रिय खेलमा पनि देखिएको क्यानकै अधिकारीहरू स्वीकार गर्छन् ।

सन्दीपले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा दिएको बयानमा पनि आफूमाथि बलात्कारको आरोप लगाउनेको कुराले छक्क परेको बताएका छन् ।

सन्दीप र ती किशोरी गएको भदौ ५ गते साँझ नगरकोट पुगेका थिए । नगरकोटबाट फर्कंदै गरेको प्रसंगलाई लिएर सरकारी वकिलको कार्यालयमा दिएको बयानमा उनले भनेका छन्, “उनको ठ्याक्कै होस्टेल कहाँ पर्छ भन्ने थाहा थिएन, त्यसैले काठमाडौंको जडीबुटी कटेपछि मैले होस्टेलको डिटेल सोधी पु¥याइदिन्छु भन्दा– कहाँ हुन्छ, यति राति भइसक्यो, होस्टेल बन्द भइसक्यो, होस्टेल खुल्दैन भन्न थालिन् । उनको त्यो कुरा सुनेर म एक छिन छक्क परेँ । अघि तिमीले आफ्नो होस्टेल जति बेला पनि खुल्छ भनेकी होइनौ ? अहिले होस्टेल बन्द भयो भन्छौ भनेँ ।”

सन्दीप र उनलाई आरोप लगाउने किशोरीको चिनजान भने क्रिकेटर देव खनालमार्फत भएको खुलेको छ । देवले जिल्ला सरकारी वकिलको कार्यालयमा दिएको बयानले पनि यसको पुष्टि गर्छ ।

देवले स्न्याप च्याटमार्फत सन्दीपको फोटो र भिडियो ती किशोरीलाई पठाएको बताएका छन् । तर, उनले आफूले ती किशोरीलाई नभेटेको बयान दिएका छन् । सन्दीपले आफूलाई फसाइएको तर्क गरे पनि किशोरीलाई लिएर होटेल जाने कुराले त्यसको खण्डन गर्ने प्रहरी अधिकारीहरूको भनाइ छ ।

एक नाबालिगमाथि बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । जाहेरीमा सन्दीपले भदौ ५ गते राति पिंगलास्थानस्थित होटेल काठमाडौं इनमा लगेर दुईपटक बलात्कार गरेको उल्लेख थियो । सोही जाहेरीपछि सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।