२० वर्षपछि एकाएक भाइरल बन्दैछ रेशम चौधरीको गीत ‘काठमाडौं सहर कता पर्छ साली मलाई पनि भाटु घुम्ने छ रहर’

‘काठमाडौं सहर कता पर्छ साली

मलाई पनि भाटु घुम्ने छ रहर’

रेशम चौधरीले २१ वर्षअघि रेकर्ड गराएको यो गीत अहिले एकाएक टिकटकमा भाइरल बनेको छ । रेशमकी पत्नी तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ स्वयंले यो क्लिप सेयर गरेकी छन् जहाँ उनी थारु समुदायका व्यक्तिसँग नाचिरहेकी छन् ।

‘मेरो श्रीमान् माननीय रेशम चौधरीद्वारा २०५८ सालमा रेकर्ड गरेको गीत’ भन्दै उनले टिकटकमा भिडियो सेयर गरेकी हुन् । रेशम चौधरी चार दिवारमा थुनिएर आजभोलि बन्द भएको र उनी निर्दोष भएको कुरा पनि रञ्जिताले क्याप्सनमा लेखेकी छन् । चौधरीकै अर्को एक गीत ‘ल होइ ल होइ साली हजुर’ बोलको थारु गीतलाई पनि टिकटकमा व्यापक सेयर गरिएको छ ।

रेशमको यो गीत दुई दशकपछि सामाजिक सञ्जालमा भाइरल किन बनिरहेको छ भन्ने कुरा बुझ्न राजनीतिको समय र सन्दर्भ बुझ्नुपर्ने हुन्छ । रेशमकै दल नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्तसहित विश्वासको मत दिंदैछ । रेशम चौधरीलाई रिहा गर्नुपर्ने र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने सर्त नाउपाको छ । यी सर्त पूरा भए सरकारमा जाने उसको भनाइ छ ।

एक बच्चासहित १२ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको घटनामा दोषी ठहरिएका चौधरी अहिले डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका छन् । संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै नाउपा अध्यक्ष रञ्जिताले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी थिइन् । रञ्जितासहित नाउपाका नेता कार्यकर्ताले रेशमको उक्त गीतलाई भाइरल बनाउँदै सामाजिक सञ्जालबाट उनको रिहाइका लागि माहोल बनाउन खोजिरहेको देखिन्छ ।

उक्त गीतलाई नै भाइरल बनाउनेतर्फ किन छनोट गरियो भन्ने बुझ्नु पनि रोचक नै हुन आउँछ । उक्त गीतमा साली र भिनाजुबीच काठमाडौं सहर घुम्ने चर्चा गरिएको छ । यी दुई पात्रबीच काठमाडौं घुमघामको रोमान्टिक कुरा भए पनि गीतको अन्तर्यले चाहिं नाउपाले कैलालीदेखि काठमाडौंसम्मको यात्रा कसरी तय गर्‍यो भन्ने कुरा दर्शाउँछ ।