विप्लव ४ केन्द्रीय सदस्यसहित ६७ जना सदस्य माओवादी प्रवेश

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

उनीहरुलाई बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन्। पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ६७ जना सदस्यहरु माओवादी प्रवेश गरेका हुन्।

माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्व केन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौँ महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवम् विशेष कमिटी सदस्य रमेश परियारले सामूहिक राजीनामा दिएका थिए।

राजीनामा लगत्तै माओवादी केन्द्रमा प्रवेश गर्ने बताएका उनीहरु आज माओवादी प्रवेश गरेका हुन्।

पुन महाकाली ब्यूरो इन्चार्ज समेत हुन् । यस्तै पूर्व केन्द्रीय सदस्य खड्का सेती ब्यूरो इन्चार्ज हुन् भने धामी महाकाली इन्चार्ज हुन्। पूर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्ज समेत रहेका परियार हाल विशेष कमिटी सदस्य रहेका छन्।

आफूले विप्लवको नेतृत्वमा क्रान्ति सम्भव नहुने देखेरै बाटो बदलेको पुनले बताए । उनले विप्लव आफू क्रान्ति गर्न पनि नसक्ने माओवादी शक्तिलाई एकीकृत र ध्रुवीकृत गर्न पहल नगरेकै कारण आफूहरूले विप्लवले नेतृत्व गरेको पार्टी परित्याग गरेको उनको भनाइ थियो ।