रवि लामिछानेले भने- पार्टीको सभापति म हुँ, महाधिवेशन एक वर्षपछि हुन्छ

रवि लामिछाने सभापति रहने गरी राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ।

उक्त दलमा अहिले २१ जना केन्द्रीय नेताहरू छन्। दल दर्ताको निवेदन आयोगमा बुझाएलगत्तै आज पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले पार्टी सभापति आफू भएको बताए।

‘यो दलको सभापति म छु,’ उनले भने, ‘हाम्रो टिमले मलाई सभापति चुनेको छ। हामी २१ जना छौं।’

उनले दल दर्ताका लागि निवेदन दिँदा अरू क-कसको नाम समावेश गरेका छन् भन्नेबारे खुलाउन चाहेनन्। आयोगले दल दर्ताको प्रमाण पत्र दिएपछि मात्रै ती व्यक्तिका नाम खुलाउने उनले बताए।

‘देशले चिनेको नहुन सक्छ, देशलाई चिनेको व्यक्तिहरू हुनुहुन्छ,’ उनले भने, ‘दलको सभापति म छु। अरू को-को भन्ने दल दर्तापछि मात्रै बाहिर ल्याउँछौं।’

उनले समावेशी हुने गरी दल दर्ताका लागि निवेदन दिइएको बताएका थिए। साथै उनले एक वर्षपछि पार्टीले महाधिवेशन गर्ने बताएका छन्।

उनले संवैधानिक समाजवादको सिद्धान्तलाई पार्टीले अंगाल्ने पनि बताएका छन्।