“गोर्खा जिल्ला गुरुङ समाज (युके)ले बारपाक-सुलीकोटको सौरपानी स्वास्थ्य चौकीलाई १० लिटर क्षमताको प्राणवायू मेशिन पठायो।”

नेपालमा कोभिड-१९को डेल्टा भेरियण्टको दोस्रो लहरको अत्यन्तै खतरनाक संक्रमणलाई मध्यनजर गरी गोरखा जिल्ला गुरूङ समाज युके” ले हालै १० लिटर क्षमताको एक अत्याधुनिक प्राणवायू यन्त्र नेपाल पठाएको छ। समाजले यस अक्सिजन कन्सेण्ट्रेटर मेशिनको अतिरिक्त स्यानिटाईजर, मास्क तथा ज्वरो नाप्ने थर्मोमिटर आदि जस्ता अत्यावश्यकीय स्वास्थ्य सामाग्रीहरू अहिले कोरोनाबाट अति प्रभावित गोरखा जिल्लाको दुर्गम भेग बारपाक-सुलीकोट गाउँपालिका स्थित ताकुकोट-बारपाक-स्वाँरा-सौरपानी क्षेत्रका सम्पूर्ण कोरोना पिडित बासिन्दाहरुलाई भनी पठाएकोमा उक्त सामग्री सौरपानी स्वास्थ्य चौकीकी स्टाफ नर्श बिपना थापा क्षेत्रीलाई आधिकारिक रुपमा बुझाईएको कुरा गोर्खा जिल्ला गुरुङ समाज (युके)का संस्थापक अध्यक्ष तथा रिटायर्ड बृटिश आर्मीका लेफ्टिनेन्ट थम प्रसाद गुरुङले जानकारी दिनु भयो।

समाजका संस्थापक अध्यक्ष गुरूङका अनुसार बारपाक-सुलिकोट गाउँपालिकाको अध्यक्ष बिष्णु भट्टको लिखित अनुरोध तथा आधिकारिक सिफारिसको आधारमा बारपाक-सुलीकोट गाउँपालिका क्षेत्रका कोरोना पिडितहरुलाई भनी उक्त सामाग्रीहरु पठाईएको हो। ती सामग्रीहरु हालमा सौरपानी स्वास्थ्य चौकीमा रहेता पनि १० लिटर क्षमताको अक्सिजन कन्सेण्ट्रेटर मेशिनलाई भने आकस्मिक प्राणवायू सेवाको रुपमा बारपाक-सुलिकोट गाउँपालिका भरका सबै स्वास्थ्य चौकीहरुमा बिमारीहरुको चापको तथा आबश्यकता अनुसार जतापनि प्रयोग गर्न सकिन्छ र सोही शर्तमा नै उक्त मेशिन हस्तान्तरण गरिएको बताईएको छ। उहाँका अनुसार उक्त प्राणवायू यन्त्र कोरोनाको बिमारीलाई मात्रै नभई स्वासप्रश्वास तथा दमका रोगी र अन्य सिकिस्त बिमारीहरुलाई पनि प्रयोग गर्न सकिन्छ।

यसै सन्दर्भमा यस्तो आपतकालीन अबस्थामा विदेशको भूमिबाट आफ्नो मातृभूमिलाई सम्झिएर अति महँगो र ठूलो क्षमताको प्राणवायू यन्त्र लगायत अन्य धेरै आपतकालीन स्वास्थ्य सामग्रीहरु सौरपानी जस्तो कोरोनाभाईरसबाट अति प्रभावित क्षेत्रको स्वास्थ्य चौकीलाई पठाएकोमा उक्त सामाग्रीहरु पठाउने दातृ संस्था “गोर्खा जिल्ला गुरुङ समाज (युके) लगाएत बिदेशमा रहनु हुने सम्पूर्ण दाता महानुभाबहरु प्रति बर्तमान गाउँपालिका अध्यक्ष बिष्णु भट्ट तथा वडा नं. ४ का अध्यक्ष कालु गुरुङद्वारा सम्पूर्ण गाउँले बासिन्दाहरुकै तर्फबाट हार्दिक आभार प्रकट गरिएको समाचार छ।

पछिल्लो समाचार अनुसार अहिले दुई तीन दिन यता बारपाक-सुलिकोट वडा नं-४ अन्तर्गत कोलस्वाँरा क्षेत्रमा कोरोनाको रोगीहरु ह्वात्तै बढेको भन्दै स्थानीय युवा ईश्वर ढकालको नेतृत्वमा सौरपानी स्कूलमा अक्सिजन सिलिण्डर सुबिधा सहितको आपतकालीन आईसोलेशन बेडहरु तैनाथ गरिएको छ।

– स्थानीय समाचारश्रोत मिलन ढकाल तथा दिपक ढकालका साथ लिभरपुलबाट मिडिया संयोजक हलोवाला।