बहुरास्ट्रिय प्रतिनिधिको सहभागितामा जातिबाद बिषयक अन्तर्कृया

जिलोङ, ६ अक्टोबर, २०२०: सांसद क्रिस्चिन कौजिन्सको प्रमुख आतिथ्यतामा अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोगले वारवन साउथ वेष्ट क्षेत्रको सहयोगमा जातिवाद बिषयक अन्तर्कृया कार्यक्रम जुम मार्फत सम्पन्न गरेको छ । सांसद कौजिन्सले जातिवादको बिषयमा प्रकाश पार्दै १४० भन्दा बढी बहुसांस्कृतिक जातिय समुदायको साझा घर ग्रेटर जिलोङमा यो समस्या समाधानमा आफूले खेलेको भूमिका बारे जानकारी दिंदै प्रत्येक बर्ष अस्ट्रेलियाकै सबैभन्दा ठूलो बहुसांस्कृतिक महोत्सब पाको महोत्सब मार्फत ती समुदाय कसरी एकाताबद्ध भएर बसेका छन भन्ने कुराको झलक दिने गरेको जानकारी गराए ।

कार्यक्रममा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिस्व सल्लाहकार रामकुमार श्रेष्ठ, भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोगका कमिसनर शंकर कासिनथन, भिक्टोरिया पुलिसका तर्फबाट स्टेभ गाम्बेट, भिक्टोरिया इक्वेल अपरच्युनिटी एन्ड ह्युम्यान राइट्स कमिसनका तर्फबाट वरिष्ठ सल्लाहकार मोनिका फोर्सन, ग्रेटर जिलोङका काउन्सेलर आन्ड्र्यु ब्राडी र मानसिक स्वास्थ्य बिज्ञ केभिन हिलब्राण्ड, सिरियन कम्युनिटीका मुख्लेश हबाश, इन्डियन कम्युनिटीका अटमजित सिङ, डाइभरसिटाटका स्ट्राटेजिक इङेजमेन्ट कोअर्डिनेटर प्रेहाशिनी  जोसेफ, ग्रीक र अस्ट्रेलियन कम्युनिटीका तर्फबाट क्रमश: भिकी र कार्ली, ग्रेटर जिलोङ नेपालीज कम्युनिटीका सचिब कुन्दन जोशी आदिको उपस्थिती रहेको सो कार्यक्रममा सहजकर्ताको भूमिका निर्बाह भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोगका वारवन साउथ वेष्ट क्षेत्रका क्षेत्रिय सल्लाहकार ज्ञानेन्द्र उप्रेतीले गरेका थिए र उन्ले उपस्थित सबैलाई स्वागत गरी कार्यक्रमको शुरुवात गरेका थिए ।

प्रस्तुति कार्यक्रमको शुरुवात ग्रेटर जिलोङ नेपालीज कम्युनिटीका अध्यक्ष डा सन्तोष पाण्डेको प्रस्तुतिबाट शुरु भएको थियो । डा पाण्डेले बारवोन साउथ वेष्ट रिजनमा नेपाली समुदायको बस्तुस्थितिमाथि प्रकाश पार्दै सानो समुदायलाई जातीबाद बिषयक समस्याको जानकारीको महत्व हुने बताउँदै यस्तो कार्यक्रम आयोजना गरेकोमा भिक्टोरियन राज्यको बहुसांस्कृतिक आयोगप्रति आभार ब्यक्त गर्नु भयो ।

भिक्टोरिया पुलिसका तर्फबाट स्टेभ गाम्बेट र भिक्टोरिया इक्वेल अपरच्युनिटी एन्ड ह्युम्यान राइट्स कमिसनका तर्फबाट वरिष्ठ सल्लाहकार मोनिका फोर्सनको लामो प्रस्तुतिपस्चात डा पाण्डेले प्रत्यक्षभन्दा अप्रत्यक्ष जातीवादको प्रश्न चुनौतिपूर्ण र जटिल हुने भएकोले यस्तो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने जिज्ञासा राख्दै बहुसंख्यक समाजमा जातिवाद ब्यक्ति र सानो समुदायमाथि लक्षित हुने र यस्ले मानसिक स्वास्थ्य र प्रतिबद्धतामाथि असर पार्ने भएकोले यस्को वचावटको लागि नीतिगत रुपमा नै जोड दिनुपर्ने कुरामा जोड दिनु भयो ।

कुन्दन जोशीले स्टेभलाई कसैले सीधै आक्रमणको सामना गर्न पर्दाको अवस्थामा अपनाइनुपर्ने प्रकृयाको बारेमा प्रश्न गर्दै यो समस्या समाधानमा बढी जनचेतनामूलक कार्यक्रम गरिनुपर्ने र खुला सार्वजनिक ठाउँमा यस्ता समस्या न्यूनिकरणमा बिशेष ध्यान दिइनुपर्नेतर्फ ध्याणाकर्षण गराउनु भयो ।