हामी फुट्यौँ, झगडा पनि गर्‍यौँ तर अब मिलेर जान्छौँ : माओवादी नेता शर्मा

काठमाडौँ — सत्तारुढ माओवादी केन्द्रका नेता दिनानाथ शर्माले आफूहरूले मिलेर सरकार चलाउने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता शर्माले विगतमा फुट आए पनि अब मिलेर अघि बढ्ने बताएका हुन् ।

नेता शर्माले जनादेश नै त्यस्तै आएकाले आफूहरू मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए । ‘हामी फुट्यौँ, झगडा पनि गर्‍यौँ । अब मिलेर जान्छौं । मिल्छौं । विगतको आत्मसमीक्षा गरेर अघि बढछौं,’ उनले भने ।

नेता शर्माले नेपालमा राजनीतिक दलहरु फुटको चरणबाट अघि बढेको उल्लेख गर्दै अब एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताए ।

चुनावमा ८९ सिट जित्दा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको कांग्रेस दलहरुबीच सिट बाँडफाँटमा सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य बनेको छ ।

कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद अरुलाई नदिने अडान लिएपछि माओवादी केन्द्रले एमालेसहितका दलहरूसँग मिलेर गठबन्धन सरकार बनाएको छ । त्यस्तै ७ वटा प्रदेशसमा समेत नयाँ गठबन्धनकै नेतृत्वमा सरकार बन्ने देखिएको छ ।