मेस्सीले फाइनल खेलेर सन्यास लिने

काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले कतार विश्वकपको फाइनल आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल हुने बताएका छन् । अर्जेन्टिनाको डियारियो डिपोर्टिभो ओलेसँग कुरा गर्दै मेस्सीले कतार विश्वकपको फाइनल खेलेर सन्यास लिने बताएको विभिन्न अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्।

मेस्सीकै प्रेरणामा मंगलबार राती क्रोएसियालाई ३–० गोलले हराएर अर्जेन्टिना छैटौँपटक विश्वकपको फाइनल पुगेको थियो। मेस्सीले हालसम्म विश्वकप उपाधि जित्न सकेका छैनन्।

अर्जेन्टिना सन् १९८६ यता विश्व च्याम्पियन बन्न सकेको छैन। सन् २००५ देखि सिनियर अन्तर्राष्ट्रिय फुटबल खेल्दै आएका मेस्सीले गत वर्ष मात्र कोपा अमेरिका जितेर सिनियर राष्ट्रिय टोलीमा उपाधि खडेरी टारेका थिए।

मेस्सीले खेलेयता अर्जेन्टिना कोपा अमेरिकामा सन् २००७, २०१५, २०१६ र २०२१ मा फाइनल पुगेको छ भने विश्वकपमा २०१४ मा पनि फाइनल पुगेको थियो।