चुनावको मुखमा बालेनविरुद्ध आन्दोलनको घोषणाले एमाले काठमाडौंमा पत्तासाफ हुन सक्ने

काठमाडौं – यतिबेला काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन चर्चामा छन् । अहिलेसम्म कुनै जनप्रतिनिधिले गर्न नसकेको काम निर्भीक ढंगले एक पछि अर्को गरी फत्ते गरेकाले पनि बालेनको चौतर्फी प्रशंसा भइरहेको छ ।

अझ राजतन्त्रकालमा हराएको काठमाडौंको टुकुचा खोला बिहीबार काठमाडौं महानगरले खोतलेर भेटेपछि उनको चर्चा चुलिएको छ । शुक्रबार मात्र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बालेनको कामको प्रशंसा गरिरहेका छन् ।

अहिले बालेनको विरोध गर्न हत्तपत्त कसैले गर्न सक्दैन । तर यस्तो अवस्थामा एमालेले भने बालेनविरुद्ध आन्दोलित भएको छ । उसले आफ्नो भ्रातृसंगठन जिफन्टको नेतृत्वमा बालेनविरुद्ध काठमाडौंका फुटपाथ व्यवसायीलाई विरोधमा उतारेको छ ।

बिहीबार काठमाडौंका सयौं फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिका घेराउ गरे । उनीहरूले दशैंको मुखमा आफ्नो रोजीरोटी खोसिएको भन्दै बालेनविरुद्ध नाराबाजी गरेका थिए ।

आगामी प्रदेश र प्रतिनिधिसभा सन्निकट एमालेले बालेनको विरोधमा किन आन्दोलन सुरु गर्यो भन्ने प्रश्न उब्जेको छ । त्यसै पनि काठमाडौंमा एमालेको जनमत घट्दै गइरहेको छ ।

अघिल्लो निर्वाचनमा पाएको जितले एमालेले आफ्नो बलियो पकड रहेको भ्रम फैलाउँदै आएको थियो । तर हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेनले मेयरमा जितेपछि एमाले आगो भएको छ ।

कतिसम्म भने केही दिनअघि एमाले नेता महेश बस्नेतले आफ्नो सरकार आए बालेनलाई डाँडा कटाउने घोषणा गरिसकेका छन् । बस्नेतको यो अभिव्यक्तिपछि एमालेविरुद्ध जनमत भड्किरहेको छ ।

अझ विभिन्न जिल्लाबाट आएका फुटपाथ व्यवसायीलाई एमालेले अघि सारेर बालेनको विरुद्ध उतारेपछि यहाँका स्थानीयवासी आक्रोशित भएका छन् ।

त्यसैले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेको जनमत झन् खस्किने आकलन गरिएको छ ।