मान्छेलाई लात्ताले हान्‍ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार छ : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञान प्रविधिलाई जसले राम्रोसँग आत्मसाथ गर्न सकेका राष्ट्र विकसित भएको बताएका छन्। शनिबार पेरिसडाँडामा पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले विज्ञान प्रविधिलाई आत्मसाथ नगर्ने राष्ट्रको विकास हुन नसक्ने बताएका हुन्।

उनले विज्ञान प्रविधिले समाजवादतिर लैजाने उनको भनाई छ। मानव जातिको उन्मूक्तिको महाअभियान विज्ञानबाटै भएको बताए। धर्मको विरोध गर्‌यो नभन्नू चुनाव आउँदैछ भन्दै प्रचण्डले भने,‘हामी कहाँ ३३ कोटी देवता हुन्छन्, मान्छेलाई लात्ताले हान्दै हिड्ने, ढुंगालाई पूजा गरेर हिँड्ने छ संस्कार छ। मैले अपमान नगरी भनेको मान्छेलाई, गरिबलाई पूजा गर्दै हिँडे कति राम्रो हुन्थ्यो। उनीहरुलाई राहत दिने कुरा गरे कति राम्रो हुन्थ्यो, हाम्रो समाजमा राम्रो डिभेट गर्नुपर्ने विषय छ।’

उनले दक्षिण एसियामा धर्मशास्त्रले सन्तोष लिन सिकाउने र भौतिकवादी विज्ञानले असन्तुष्ट हुनु भएको यो किन कसरी भयो भनेर खोजी हुने बताए।

उनले कृषि क्रान्ति, विज्ञान प्रविधिको विकास बिन सम्भव नभएको उल्लेख गरे। उनले जापान भ्रमणमा गएको बेला पनि प्रविधिको क्षेत्रमाअवलोकन गरेको स्मरण गरे। उनले निर्वाचनमा समेत प्रविधिको प्रयोग गरेर जनतामा चेतना दिनुपर्ने धारणा राखे।

प्रचण्डले आफ्नो पार्टीबाट समानुपातिकका उम्मेदवारहरूको सूची लगभग तयारी अवस्थामा रहेको जानकारी दिए। उनले भने, ‘हामी समानुपातिकका उम्मेदवारहरूको सूचीलाई अन्तिम रूप दिने प्रक्रियामा छौं। त्यसले गर्दा मेरो त्यतातिर नै व्यस्तता छ।’

कार्यक्रममा प्रचण्डले मोबाइल एपसमेत उद्घाटन गरेका छन्।